उदयपुर, मंसिर ४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरले जनतासँग सुझाव संकलन अभियान सम्पन्न गरेको छ । दल स्थापनाको वार्षिकअवसरमा हालसम्म पार्टीको तर्फबाट भएका गतिबिधिप्रगत सर्वसाधरणको राय बुझ्न जिल्लाको सबै स्थानीय तहमा पुगी तीन प्रश्न समेटिएको लिखित सुझाव संकलन गरेको हो ।
रास्वपा कोशी प्रदेश सदस्य तथा उदयपुरका संयोजक चित्रकुमार कार्कीका अनुसार अभियान मंसिर २ गतेदेखि ४ गतेसम्म संचालन भएको थियो । सो क्रममा माईकिङ, घरदैलो भेटघाटसँगै पाँच सयभन्दा बढी सर्वसाधरणले लिखित रुपमा दिएका सुझावसमेत संकलन गरिएको छ । बाँकी सुझाव भने प्रबिधिमैत्री बनाउन ह्वाट्सएपमार्फत पनि पठाउन सकिने व्यवस्था पार्टीले गरेको संयोजक कार्कीले जानकारी दिए ।

त्रियुगा नगरपालिकाको १६ वडा, चौदण्डीको १० वडा, कटारीको १४ वटै वडा, बेलाको ९ वटै वडामा अभियान चलाइएको थियो । अभियानको नेतृत्व त्रियुगामा कोशी प्रदेश सदस्य लक्ष्मण अधिकारी, बेलाका र चौदण्डीगढी नगरपालिकामा कोशी प्रदेश सदस्य प्रकाश अधिकारी र कटारीमा प्रदेश सदस्य तथा जिल्ला सहसंयोजक अनिल श्रेष्ठले गरेका थिए । उदयपुरगढी र रौतामाईको सुझाव संकलन टोलीलाई जिल्ला संयोजक कार्की स्वयंले नेतृत्व गरेका थिए ।

तीन प्रश्न सम्मीलित लिखित सुझाव माग गरिएको फारममा पार्टीबाट भएको कमिकमजोरी, पार्टीका लागि नागरिकको अपेक्षा र आफ्नो क्षेत्रमा देखिएका बुँदागत ३ मुख्य समस्याहरु उल्लेख गर्न भनिएको थियो ।
सुझाव संकलनका लागि तयार पारिएको सुझाव पत्रमा भ्रष्टाचारमा शून्य सहनसीलताको मार्ग अपनाउन आग्रह गरिएको छ । साना वा ठूला सबैखाले भ्रष्टाचारलाई उत्तिकै दण्ड सजाय निर्धारण हुने कानुनको आवश्यकता औल्याइएको छ । त्यस्तै कृषिमा सबैभन्दा बढी सम्भावना रहेकाले र्यापिड आधुनिक मोडलको कृषिमा ध्यान दिन सुझाव दिइएको छ । त्यस्तै स्थानीय तहमा विकासको नाममा बिनियोजन हुने बजेट ४० प्रतिशतभन्दा बढी दुरुपयोग हुने गरेको पनि लिखित सुझावमा गुनासो गरिएको छ ।
