विश्वराज तामाङ
उदयपुर कात्तिक २३
जिल्ला अस्पताल उदयपुरले कोसी प्रदेश अन्तर्गतका जिल्ला अस्पतालहरु मध्यकै उत्कृष्ट घोषित भएको छ । आर्थिक बर्ष २०७९/०८० को कार्य सम्पादन मुल्यांकनको आधारमा जिल्ला अस्पताल उदयपुर कोसी प्रदेशमा उत्कृष्ट घोषित भए संगै पुरस्कृत भएको हो ।
कोसी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले गरेको मुल्यांकनको आधारमा प्रदेशभरीमा उत्कृष्ट भए संगै जिल्ला अस्पताल विराटनगरमा आयोजित एक कार्यक्रमका विच बुधबार पुरस्कृत भएको छ । जिल्ला अस्पतालको गुणस्तरीय सेवा, भौतिक पूर्वाधार, सरसफाई लगायतका विभिन्न सूचकको आधारमा गरिने मुल्यांकनमा उदयपुर पुरस्कृत भएको जिल्ला अस्पताल उदयपुरका मेसु डा. ज्ञानेन्द्र झाले जानकारी दिनु भयो ।
विराटनगरमा आयोजित कार्यक्रममा डा. झाले पुरस्कार ग्रहण गर्नु भएको थियो, पछिल्लो समय जिल्ला अस्पताल उदयपुरमा गुणस्तरीय सेवा उपलब्ध हुन थाले पछि उदयपुर लगायत छिमेकी जिल्लाका नागरिकहरु समेत जिल्ला अस्पताल उदयपुरमा आउने गरेका छन् ।
विगतमा लामो समय सम्म चिकित्सक अभाव हुदाँ सन्तोषजनक सेवा दिन नसक्दा जिल्ला अस्पताल प्रति स्थानिय नागरिकहरुमा वितृष्णा जाग्ने गरेको थियो । तर पछिल्लो समय जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सकहरुबाट नागरिकहरुले जिल्ला बाहिरका निजि ठूला हस्पिटलहरुमा जस्तै सेवा पाउन थाले पछि जिल्ला बाहिर बिरामहरु जान छोडेका छन् ।
जिल्ला अस्पतालमा इमरजेन्सी सेवा संगै प्रसुती, बालबालिका, हाडजोर्नी लगायत विशेषज्ञ सेवाहरु जिल्ला अस्पतालमै पाउन थाले पछि स्थानिय नागरिकहरु पनि जिल्ला अस्पताल उदयपुर प्रति आकर्षित हुन थालेको नागरिकहरु बताउछन् । प्रदेशभरीका १४ जिल्लालाई आधार मानेर गरिएको मुल्यांकन अनुसार ताप्लेजुङ जिल्ला अस्पतालले दोस्रो र सोलुखुम्बु जिल्ला अस्पतालले तेस्रो स्थान प्राप्त गरेका छन् ।