विश्वराज तामाङ
उदयपुर कात्तिक २०
नवजात शिशुको मृत्युदर घटाउनको लागि जिल्ला अस्पताल उदयपुरले नेपालमै पहिलो पटक जिल्ला बाहिरका अस्पतालमा रेफर गर्नु परेमा अनुभवि स्वास्थ्यकर्मी सहित रेफर गर्ने अभियानको सुरुवात गरेको छ । नवजात शिशुको मृत्युदर घटाउनको लागि त्रियुगा नगरपालिका वडा नम्बर १० को सहयोगमा पहिलो पटक नेपालमै जिल्ला अस्पताल उदयपुरले यो अभियानको सुरुवात गरेको हो ।
सोमबार एक समारोहका विच जिल्ला अस्पताल उदयपुर आयोजित कार्यक्रममा बच्चा जन्मेको २८ दिन भित्रमा जिल्ला बाहिरका सुविधा सम्पन्न अस्पतालमा रेफर गर्नु पर्ने अबस्था आईपरे स्वास्थयकर्मी सहित रेफर गर्ने अभियानको सुरुवात गरिएको हो ।
एक तथ्यांकका अनुसार सन् २०१६ देखि २०२२ सम्मको बच्चा जन्मेको पहिलो महिनामा २१ प्रतिशत बच्चाहरुको मृत्युदर पाईएकाले त्यसलाई न्यूनिकरण गर्नका लागि लागि यो अभियानको सुरुवात गरिएको कार्यक्रका फोकल पर्शन डा. निर्मला चौधरीले जानकारी दिनु भयो ।
उहाँका अनुसार सरकारले यो मृत्युदरलाई घटाएर आगामी सन् २०३० सम्ममा १२ प्रतिशतमा झार्ने लक्ष्य राखिएको डा. चौधरीले बताउनु भयो । सोमबार एक कार्यक्रमका विच त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्तकुमार बस्नेतले अभियानको उद्घाटन गर्नु भएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गौर बहादुर विश्वकर्मा, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, जिल्ला स्वास्थ कार्यालयका कार्यालय प्रमुख बृजकुमार दास, त्रियुगा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष किरण पाण्डे लगायतले कार्यक्रमको शुभकामना राख्नु भएको थियो ।
सुरुवातमा त्रियुगा नगरपालिका वडा नम्बर १० बाट अभियानको सुरुवात गरिएको र त्रियुगा नगरपालिकाको १६ वटै वडा र त्यस पछि जिल्लाभरबाट सेवा प्रदान गर्ने लक्ष्य राखिएको फोकल पर्शन डा. निर्मला चौधरीले बताउनु भयो ।
नवजात शिशु सहित जिल्ला अस्पतालबाट अन्य सुविधा सम्पन्न अस्पतालमा रेफर गर्दा जाने स्वास्थ्यकर्मीलाई संबन्धित वडाले थप सेवा सुविधा उपलब्ध गराउने छ ।
अस्पतालबाट जिल्ला बाहिर रेफर गर्दा कतिपय अबस्थामा बाटोमानै बच्चाको मृत्यु हुने स्वास्थ्यकर्मीको उचित परामर्श र सेवाको अभावमा बालबालिकाको मृत्युहुने घटनालाई न्यूनीकरण गर्नका लागि सुरुवात गरिएको डा. चौधरीले बताउनु भयो । यता जिल्ला अस्पताल उदयपुरले नबजात शिशुहरुको उच्च सुरक्षा सहित उपचारको लागि ४ वटा एनआईसियु समेत संचालनमा ल्याईएको जिल्ला अस्पताल प्रमुख मेशु डा. ज्ञानेन्द्र झाले बताउनु भयो । डा. झाले जिल्ला अस्पताल उदयपुरलाई अझ सुविधा सम्पन्न र प्रभावकारी सेवाको लागि आफुहरु तल्लीन भएर लागि परेको समेत बताउनु भयो । सोमबार बाट सुरु भएको यो कार्यक्रम जिल्ला अस्पताल उदयपुरको आयोजना, त्रियुगा नगरपालिका वडा नम्बर १० ले विशेष सहयोग तथा परिवार कल्याण महाशाखा टेकु, परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल थापाथाली र स्वास्थ्य कार्यालय उदयपुरले कार्यक्रमलाई सौजन्य गरेको छ ।