उदयपुर, कात्तिक १६ । राट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्रले देशमा अम नचयन र स्थायीत्वका लागि राजसंस्थाको अपरिहार्यता औल्याएका छन् । पार्टीको उदयपुर जिल्ला कमिटिले आयोजना गरेको विशेष कार्यकर्ता प्रशिक्षण तथा भेलालाई सम्बोधन गर्न सदरमुकाम गाईघाट पुगेका मिश्रले पत्रकार सम्मेलनमा पुरानै जिकिर दोहोर्याएका हुन् ।
देश अहिले अभिभावकबिहीनको अवस्थामा गुज्रिरहेको बताउदै उपाध्यक्ष मिश्रले राष्ट्रिय एकता र स्थायीत्वका लागि राजा एकमात्र बिकल्प रहेको दाबी गरे । २०६२/०६३ सालको जनआन्दोलनमा पनि केही ठूला दलहरुले १२ बुँदे सम्झौता बिपरित काम गरेर राजसंस्था र जनतालाई धोका दिएको उनले बताए ।
‘धर्म निरपेक्षताको घोषणासँगै देश बिखण्डनको बाटोतिर बढ्यो’ बीबीसीका पत्रकारबाट राजीनामा दिई पार्टी संगठनमा होमिएका उपाध्यक्ष मिश्रले भने, ‘नेपालमा ४ धर्म मात्र छन् ।’ धर्मनिरपेक्षता, राजसंस्थाप्रति नागरिक चाँसो बढ्दै गएको उनले बताए । हिजोका दिनमा राजतन्त्र फाल्न र गणतन्त्र ल्याउनका लागि भन्दै ज्यान बाजी राखेर लड्नेहरु नै अहिले राजसंस्थाको पक्षमा खुलेर सडक संघर्ष थालेको मिश्रको भनाई छ । ‘हिजो भक्तपुर गणतन्त्रको किल्ला हो, तर त्यही ठाउँमा आज राजा जाँदा हजारौँ जनताको जुलुस स्वतस्फुर्त सडकमा आउछन्’ मिश्रले भने ।
नाम मात्रको ‘अग्रगामी’ व्यवस्थाले नागरिकलाई विकास र अमनचयन नदिने उनले बताए । बिभिन्न आन्दोलन र जनयुद्धको नाममा देशलाई तीन दशक पछाडी धकेलेको र राजसंस्थालाई बदनाम गराएर सरकार र कुर्सी बचाईराख्न प्रपञ्चमा गुज्रिरहेको पनि उपाध्यक्ष मिश्रको दाबी छ ।
२०४७ सालको संविधानलाई टेकेर राजा, राजनीतिक दल र जनताबीच नविन समझदारी नभए देश क्षयीकरणको दुर्गति नरोकिने उनको आशय थियो ।