उदयपुर, असोज २४ ।
शैलुन व्यवसायीहरुको छाता संगठन ‘नेपाल राष्ट्रिय नाई संघ उदयपुर’ले नेपालीहरुको महान पर्व बडा दशैं, शुभदिपावली तथा छँठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गरेको छ । उदयपुर सदरमुकाम गाईघाटस्थित ड्रिमल्याण्ड होटलको सभाहलमा मंगलबार आयोजित कार्यक्रममा बिभिन्न महत्वपूणर् निणर्यहरु सार्वजनिक गर्दै आपसमा शुभकामना साटासाट गरिएको हो ।
राष्ट्रिय नाई संघका उदयपुर जिल्ला अध्यक्ष पुन्देव ठाकुरका अनुसार कार्यक्रममा बिभिन्न महत्वपूणर् निणर्यहरु समेत गरिएको छ । जसअनुसार उदयपुरमा हाल हरेक मंगलबार बन्द हुँदै आएको शैलुनहरु ग्राहकको सुबिधालाई ध्यानमा राख्दै दशैं, तिहार र छठसम्म हप्ताको सातै दिन खुल्ला राख्ने निणर्य गरिएको छ ।
त्यस्तै नाई समुदायको हक, हित अधिकार र बिभिन्न भईपरी आउने जटिल प्रकृतिका समस्याको बेला सहयोग गर्न सकिने गरी विशेष कोषसमेत स्थापना गर्ने निणर्य गरिएको छ । जसका लागि हरेक महिना एक शैलुनले २ सय रुपैयाँ जम्मा गर्नुपर्ने नियम बनाइएको छ ।
नाई संघ उदयपुरको जिल्ला कार्य समितिमा यसअघि खाली रहेको कोषाध्यक्ष पदमा रञ्जीता ठाकुर र सदस्य पदमा वीरेन्द्र ठाकुरलाई चयन गरिएको छ । त्यस्तै नाई संघको त्रियुगा नगर कार्यसमितिमा खाली रहेको नगर सचिव पदमा भने उमेश ठाकुरलाई जिम्मेवारी दिने निणर्य गरिएको छ ।
जिल्ला अध्यक्ष पुन्देव ठाकुरको संयोजकत्वमा आयोजित कार्यक्रममा लोकतान्त्रिक समाजबादी पार्टीका उदयपुर जिल्ला अध्यक्ष खुसीलाल ठाकुर, नेपाल राष्ट्रिय नाई संघका कोशी प्रदेश प्रमुख समतलाल ठाकुर, हिन्दू महासंघका उदयपुर अध्यक्ष शिवचरण ठाकुरलगायतको उपस्थिती रहेको थियो । त्यस्तै कार्यक्रममा ६५ जना शैलुन व्यवसायीहरु सहभागी थिए ।
अध्यक्ष ठाकुरका अनुसार हाल उदयपुर नाई संघका बिभिन्न ९८ वटा शैलुन दर्ता छन् । कार्यक्रम नाई संघ उदयपुरका जिल्ला कार्यसमिति सल्लाहकार रामप्रसाद ठाकुरले सञ्चालन गरेका थिए ।