देबराज राई-
चिसापानी । खोटाङमा आयोजना हुने ‘प्रथम जन्तेढुंगा गोल्डकप–२०८०’को तयारी लगभग पूरा भएको छ । जिल्लाको जन्तेढुंगा गाउँपालिकास्थित चिसापानी–जन्तेढुंगा बीचमा अवस्थित भन्जाङखर्क फुटबल मैदानमा सुरु हुने प्रतियोगिता सञ्चालनको करिब एक दिन मात्र बाँकी रहदा भौतिक तथा व्यवस्थापकीय तयारीले पूर्णता पाएको हो ।
नयाँ वर्ष २०८० सालको अवसरमा वैशाख ४ देखि सुरु हुने गोल्डकप ११ गतेसम्म सञ्चालन हुनेछ । यसअघि आयोजकबाट सार्वजनिक खेलतालिका अनुसार घरेलु टिम, उदयपुरको बेल्टार र बसाह, भोजपुर, सिराह र सप्तरीका गरी जम्मा ८ टिमले सहभागिता जनाउने भएका छन् ।
तालिका अनुसार पहिलो दिन वैशाख ४ गतेको उद्घाटन खेल घरेलु टिम जन्तेढुंगा फुटबल क्लव र सप्तरीको न्यू त्रियुगा फुटबल क्लवबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो दिनको खेलमा भने उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित बसाह फुटबल क्लव र खोटाङको बीआरसीआर हलेसी तुवाचुङ आपसमा भिड्नेछन् ।
तेस्रो दिन अर्थात वैशाख ६ गते भोजपुर फुटबल क्लव र उदयपुरको बेल्टार एकता क्लवबीच प्रतिस्पर्धा हुनेछ । यसैगरी लगातार चौथो दिनको खेलका लागि सिराहको गोलबजार फुटबल क्लव र खोटाङको भगवती स्पोर्टस क्लव मैदान उत्रने छन् ।
आयोजकका अनुसार प्रतियोगिताको सेमीफाईनल खेल वैशाख ८ गतेदेखि सुरु हुनेछ । जसअनुसार उद्घाटन खेल अर्थात वैशाख ४ गते विजयी हुने टिमले वैशाख ६ गतेको खेलमा जित्ने टिमसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । सेमीफाईनलको दोस्रो खेल वैशाख ९ गते हुनेछ । जसका लागि फाईनल यात्रामा प्रवेश गर्न बसाह फुटबल क्लव र हलेसी तुवाचुङ, गोलबजार सिराह र भगवती स्पोस्र्टस क्लवबीच विजयी भएर आएका दुई टिम भिड्नेछन् ।
प्रतियोगितालाई जन्तेढुंगा गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । आयोजक जन्तेढुंगा खेलकुद विकास समितिका अनुसार फाईनल खेल वैशाख ११ गते हुनेछ । फाईनल खेल दिउँसो दुई बजेदेखि हुनेछ भने अन्य सबै खेलहरु दिउँसो साढे २ः०० बजेदेखि सञ्चालन हुनेछन् ।