उदयपुर । उयदपुरमा पनि बिभिन्न लघुबित्तीय संस्थाहरुबाट मारमा परेकाहरुले आन्दोलन सशक्त बनाउने सम्भावना बढेको छ । पीडितहरुको छाता संगठन ‘लघुबित्तीय संस्थाबिरुद्धको संघर्ष समिति’ योजनाबद्ध बिरोधका कार्यक्रमहरु सार्वजनिक गरेसँगै जिल्लामा पनि यसको असर देखा परेको हो ।
समितिले ७७ वटै जिल्लामा हाल लघुबित्तबिरुद्ध आन्दोलन चलउदै आएको छ । जसअनुसार उदयपुरमा पनि चैत २१ गतेदेखि जिल्ला प्रशासन कार्यालय अगाडि पीडितहरुले रिले अनशन थालेका छन् । मंगलबारदेखि जारी अनसनलाई बुधबार पनि निरन्तरता दिइएको समितिका कोशी प्रदेश समितिका सल्लाहकार सदस्य मनोज थापाले जानकारी दिए ।
उदयपुर प्रशासन कार्यालय अगाडी बुधबार जिल्लाको रौतामाई गाउँपालिका ८ का दिलीप मगर, कटारी नगरपालिका भेषराज पौडेल, बेलका नगरपालिकाका जयराज माझी, चौदण्डीगढी नगरपालिकाका प्रणाम राई, उदयपुरगढी गाउँपालिबाट गीता बास्तोला र त्रियुगा नगरपालिकाकी कविता राईलगायत रिले अनसनमा सहभागी थिए ।
अनसनमा बसेका उनीहरुले ५ सूत्रीय माग अगाडि सारेका छन् । जसअनुसार नेपालमा सञ्चालित बिभिन्न लघुबित्त संस्थाहरु पूर्ण खारेज हुनुपर्ने, लघुबित्तहरुले लगानी गरेको सामूहिक ऋण मिनाहा हुनुपर्ने र गरिब किसानहरुलाई निशूल्क ऋण उपलब्ध गराउनुपर्ने, आवश्यकता र क्षमतामा आधारित काम र दाम व्यवस्था हुनुपर्ने र समाजबादी अर्थतन्त्रको विकास गर्न उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
पछिल्लो समय च्याउसरी खुलेका बित्तीय संस्थाहरुले राष्ट्रबैंकबाट तोकिएको आर्थिक नीति (निर्देशिका)मा उल्लेख भएभन्दा बढी व्याज असुल्दै आएको संघर्ष समितिको आरोप छ । प्रदेश सल्लाहकार थापाका अनुसार अहिले जिल्लामा ३६ देखि ४२ प्रतिशतसम्म मनपरी आफूखुसी व्याज असुल हुँदै आएको छ । आफ्ना मागहरु पूरा नभए शुक्रबारदेखि अनिश्चितकालिन आमरणअन्सन बस्ने तयारी भएको छ । समितिको यस्तो घोषणापछि जिल्लामा पनि बित्तीय संस्थाहरुबिरुद्धको आन्दोलनले उग्र रुप लिन देखिएको हो ।