उपहार न्यूज
उदयपुर चैत २२
कोष तथा लेखा नियन्त्रण कार्यालय उदयपुरको आयोजनामा बुधबारबाट दुई दिने स्थानिय तहमा कार्यरत आन्तरिक लेखा परिक्षकहरुको लागि क्षमता विकास तालिम सुरु गरिएको छ । महालेखा नियन्त्रक कार्यालयको बार्षिक कार्यक्रम अन्तर्गत उदयपुरमा बुधबारबाट क्षमता विकास तालिम सुरु गरिएको हो ।
स्थानिय तहमा प्राप्त हुने बजेट तथा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन तथा आर्थिक प्रशासनलाई चुस्त बनाउनका लागि आन्तरिक लेखा परिक्षकहरुलाई तालिम प्रदान गरिएको हो । उदयपुर, सोलुखुम्बु, ओखलढुंगा, सप्तरी र सिराह गरी ५ जिल्लाका ५६ स्थानिय तहका आर्थिक प्रशासन शाखामा कार्यरत कर्मचारी तथा आलेपहरु तालिममा सहभागी भएको कोष तथा लेखा नियन्त्रण कार्यालय उदयपुरका प्रमुख महेश कुमार दाहालले जानकारी दिनु भयो ।
दुई दिन सम्म संचालन हुने तालिममा विशेषगरी स्थानिय तहमा कसरी बेरुजी कम गर्ने तथा लेखा नियमितता, मितव्ययीता र कार्यदक्षताको बिषयमा तालिम प्रदान गरिएको दाहालले बताउनु भयो । तालिमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सहभागीहरुलाई प्रशिक्षण समेत गर्नु भएको थियो ।
तालिममा कोष तथा लेखा नियन्त्रण कार्यालय खोटाङका प्रमुख मान बहादुर मगर, धनकुटा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख ध्रुब कार्की, गाईघाट दिक्तेल सडकका इन्जिनियर प्रभातकिरण राई, तथा कोलेनिका उदयपुरका प्रमुख महेशकुमार दाहालले प्रशिक्षण दिनु भएको छ ।
