उदयपुर । उदयपुरमा राष्ट्रपति रनिङ शिल्डको १२ औँ संस्करण सम्पन्न भएको छ । सदरमुकाम गाईघाटस्थित थरुहट रंगशालामा आयोजित प्रतियोगितामा बिभिन्न विधाका पदकहरु बितरण गर्दै आईतबार एक समारोहबीच समापन गरिएको हो ।
आयोजक जिल्ला खेलकुद विकास समिति उदयपुरका अनुसार सबैभन्दा बढी पदक भने जिल्लाको पहिलो नगरपालिका त्रियुगाले हात पारेको छ । यही २६ गतेदेखि सुरु भएको प्रतियोगितामा सबै स्थानीय तहलाई पछाडी पार्दै त्रियुगाले सबैभन्दा बढी अर्थात ५६ ओटा पदक हात पार्न सफल रहेको थियो ।
आयोजकले सार्वजनिक गरेको बिवरण अनुसार त्रियुगाले २९ ओटा गोल्ड, ११ सिल्भर र १६ ब्राउन प्राप्त गर्दै प्रथम स्थानमा कब्जा जमाएको हो । जसमा १८ छात्रले गोल्ड प्राप्त गरेका छन् । ११ छात्रालाई गोल्ड प्राप्त भएको छ ।
त्यसैगरी १९ ओटा गोल्ड, १८ ओटा सिल्भर र ९ ओटा ब्राउन प्राप्त गर्दै जिल्लाको पश्चिम नगरपालिका कटारीले दोस्रो स्थान हात पार्न सफल रह्यो । कटारीको तर्फबाट गोल्ड पाउने छात्र ६ र छात्रा १३ रहेका छन् । जिल्लाको चौदण्डीगढी नगरपालिकाको प्रतिनिधित्व गर्दै मैदान छिरेको टोलीले भने तेस्रो स्थान सुरक्षित गरेको थियो । तृतीय स्थानमा चित्त बुझाउन बाध्य चौदण्डीगढीले सिल्भर- २ र ब्राउन- ९ उपाधि प्राप्त गर्यो । चौदण्डीले प्रतियोगिता अवधिभर कुनै पनि गोल्ड भने हातमा लिन सकेन ।
गाउँपालिकाहरुबाट पनि प्रतियोगिताका लागि सहभागिता रहेको थियो । जसमा उदयपुरगढीले ४ ओटा सिल्भर र ५ ओटा ब्राउन प्राप्त गरेको थियो । लिम्चुङबुङ गाउँपालिकाले भने सिल्भर २ र ब्राउन ४ वटा उपाधिमै चित्त बुझाउनुपर्यो । ताप्लीको तर्फबाट प्रतिनिधित्व गर्दै मैदान छिरेका सहभागीले २ सिल्भर मात्र हात पारे । रौतामाई गाउँपालिकाले भने कुनै पनि पदक पाउन नसक्दा ‘शूल्य’को नतिजा सामना गर्नपरेको थियो ।