उपाहार न्यूज
उदयपुर मंसीर १२
त्रियुगा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष किरण पाण्डेले आफ्नै वडाका स्थानिय नागरिकलाई कुटपिट गरेका छन् । त्रियुगा नगरपालिका ११ गाईघाट स्थित त्रियुगा माविमा प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मतगणनास्थलमा मतगणनाको जानकारी लिन बसेका त्रियुगा नगरपालिका वडा नम्बर १० का स्थानिय नागरिक विजय खत्रीलाई आईतबार राती १२ बजेको समयमा अपशब्द प्रयोग गर्दै कुटपिट गरेका हुन् । वडाअध्यक्ष पाण्डेले खत्रीलाई कुटपिट गरेको बिषयलाई लिएर लोकतान्त्रिक बाम गठबन्धन निकट दलहरुले संयुक्त प्रेस विज्ञप्ती जारेको गरेको छ ।
गठबन्धन निकट नेपाली कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै वडाअध्यक्ष पाण्डेलाई कार्वाहिको माग गरेका छन् । जनप्रतिनिधि जस्तो व्यक्तिले आफ्नो पदिय मर्यादाको समेत ख्याल नगरी यसरी आफ्नै वडाका नागरिकलाई कुटपिट गर्नु कति सम्मको जायज हो गठबन्धन दलले विज्ञप्ती मार्फत प्रश्न गरेका छन् । वडाअध्यक्ष पाण्डेले निर्वाचनमा आचारसंहिता विपरितका गतिविधिमा समेत संलग्न रहेको प्रमाण रहेकाले उनलाई निर्वाचन आचारसंहिता अनुसार समेत कार्वाहिको माग विज्ञप्तीमा राखिएको छ ।
वडाअध्यक्ष पाण्डेले खत्रीलाई त बड्ता हुदैछस भन्दै आएर एक्कासी मुक्का प्रहार गर्न सुरु गरेको प्रत्यक्षदर्शी अनिल खड्काले बताए । वडाअध्यक्ष पाण्डेको यस किसिमको गतिविधिले कानुनी राज्यको समेत धज्जी उडाउने काम गरेको छ ।
