विश्वराज तामाङ
उदयपुर असार ७
त्रियुगा नगरपालिका क्षेत्रमा वैदेशिक रोजगारीबाट बार्षिक रुपमा एक अर्ब १५ करोड रुपैया रेमिट्यान्स भित्रने एक तथ्यले देखाएको छ । बार्षिक रुपमा भित्रने यति ठूलो रेमिट्यान्स रकमलाई व्यवस्थीत गरि उत्पादनमुलक क्षेत्रमा लगानी गर्नका लागि त्रियुगा नगरपालिकाले जोड दिएको पाईएको छ ।
त्रियुगा नगरपालिका क्षेत्र भित्रका चार हजार एक सय ११ घरधुरीबाट विदेशिएको पछिल्लो तथ्यांक र त्यसबाट आप्रावसी कामदारहरुबाट बार्षिक यति ठूलो रेमिट्यान्स रकम त्रियुगा नगरपालिका क्षेत्रमा भित्रने गरेको पाईएको हो । ठूलो मात्रामा रेमिट्यान्स भित्रिए पनि त्यसको सहि सदुपयोग हुन नसक्दा त्यसलाई उत्पादनशिल क्षेत्रमा लगानी गर्नका लागि त्रियुगा नगरपालिकाले कदम चालेको पाइएको छ ।

मंगलबार सुरक्षित आप्रवासन परियोजना सामीले सुरक्षित आप्रावासन सम्वन्धि संचारकर्मीहरु संगको अन्तक्रियामा यस्तो तथ्य सार्वजनिक भएको हो । रेमिट्यान्स मार्फत प्राप्त हुने रकम मध्य सबै भन्दा ठूलो खर्च वैदेशिक रोजगारीमा जादा लागेको या विभिन्न कारणले गर्दा लागेको ऋण तिर्नका लागि २५ प्रतिशत खर्च हुने गरेको छ । कुल आम्दानीको २० प्रतिशत घर खर्च, ६ प्रतिशत स्वास्थ्य तथा औषधि उपचार खर्च, ११ प्रतिशत बचत, ३ प्रतिशत ऋण लगानी, ६ प्रतिशत बालबालिकाको शिक्षामा २१ प्रतिशत घर बनाउनको लागि ७.६० प्रतिशत जग्गा खरिद गर्न र उत्पादनमुलक व्यवसाय सुरुवात गर्नको लागि ०.४० प्रतिशत लगानी हुने गरेको पाईएको छ ।

बैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सको सहि व्यवस्थापन हुन सके मात्रै पनि नगर क्षेत्रलाई समृद्ध बनाउन सकिने त्रियुगा नगरपालिकाका सामाजिक शाखा तथा सामी परियोजनाका स्रोत व्यक्ति विश्वजीत राई बताउनु हुन्छ । बार्षिक ठूलो रकम नगर क्षेत्रमा भित्रन्छ त्यसलाई सहि व्यवस्थापन गर्नका लागि सामीले आवश्यक सहजीकरण गरिरहेको राई बताउनु हुन्छ । वैदेशिक रोजगारीमा जाने संख्याको १६ प्रतिशतले मात्र आवश्यक शिप सिकेर बैदेशिक रोजगारीमा जाने गरेकाले विदेशमा विभिन्न समस्याहरु भोग्नु परेको परियोजनाले प्राप्त गरेको तथ्यले बताएको छ ।

सामी परियोजनाले त्रियुगा नगरपालिका संगै जिल्लाको कटारी नगरपालिका, चौदण्डिगढी नगरपालिका र रौतामाई गाउँपालिकामा काम गर्दै आएको छ । ठूलो मात्रामा भित्रने रेमिट्यान्सलाई व्यवस्थीत गर्नका लागि सामी परियोजनाले त्रियुगा नगरपालिका क्षेत्रमा विभिन्न काम गर्दै आएको सामी परियोजनाका परियोजना संयोजक जयन्तीकला तामाङले जानकारी दिनु भयो । सामीको फेज ४ संचालन भैरहेको उदयपुरमा सामी परियोजनाले विशेषगरी सूचनामा पहुच, न्यायमा पहुच, शिप तालिमको लागि सहजीकरण, मनोसामाजिक परामर्श, वित्तिय साक्षरता कक्षा संचालनको क्षेत्रमा काम गर्दै आएको छ ।
वैदेशिक रोजगारीमा जानेलाई आवश्यक परामर्श, वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सको सहि सदुपयोग र बैदेशिक रोजगारी बाट फर्केका युवाहरुलाई उद्यमशिलता र उत्पादनमुलक क्षेत्रमा लागी पर्नका लागि सामीले आवश्यक समन्वय गरिरहेको छ । सामी परियोजनाले बैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई बैंक संग उद्यमशिलता विकास र स्वरोजगारको लागि समन्वय, विप्रेशन प्राप्त गर्ने परिवारलाई शिपमुलक तालिम, बैदेशिक रोजगारीमा गएर मृत्यु भएका परिवारको जिविकोपार्जन र उद्यमशिलता तालिम, बैदेशिक रोजगारीबाट फर्केका युवाहरुको संजाल गठन लगायतको गतिविधि गर्दै आएको परियोजना संयोजक जयन्तीकला तामाङले जानकारी दिनु भयो ।

सामीले पत्रकार संगको अन्तरक्रिया कार्यक्रममा बरिष्ठ पत्रकार कौशल चम्जोङले बैदेशिक रोजगारीको क्षेत्रमा संचार क्षेत्रको भुमिका र वैदेशिक रोजगारीको बिषयमा समाचार लेख्दा संवेदनशिल हुनु पर्ने बिषयमा सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा सामी हेल्भेटासका कार्यक्रम अधिकृत देवनारायण चौधरीको समेत उपस्तिथी रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले उदयपुरका पत्रकार सामी संगको सहकार्यमा वैदेशिक रोजगारीको क्षेत्रमा हुने गरेका बिषयलाई संवेदशिल भएर प्राथमिक्तामा राखेर समाचार संप्रेषण गर्ने बताउनु भयो । कार्यक्रममा उदयपुरका तीस भन्दा बढि पत्रकारको सहभागीता रहेको थियो ।