नेपालगञ्जको भेरी अस्पतालमा उपचारका लागि आएका कोरोना सङ्क्रमित, अन्य रोगका बिरामी र कुरुवालाई रु २० मै खाना उपलब्ध भएपछि उनीहरुका आफन्तलाई राहत मिलेको छ । अस्पताल परिसरमै प्रतिछाक रु २० मा भरपेट खाना उपलब्ध भएपछि बिरामीका कुरुवालाई होटल खोज्दै हिँड्नुपर्ने समस्याको अन्त्यसमेत भएको छ । अस्पतालमा उपचारका लागि आउने बिरामी र कुरुवाका लागि श्री सुन्दरकाण्ड मित्र मण्डलले अञ्जनी माता रसोईका नामबाट साँझ–बिहान दुवै छाक भरपेट खाना खुवाउन शुरु गरेको हो ।
यसअघि रसोईलाई कशौधन वैश्य समाज, कसौधन वैश्य समाज युवा मञ्च र महिला मञ्चले खाद्यान्न सहयोग गरेका थिए । कसौधन वैश्य समाजका अध्यक्ष नन्दलाल वैश्यको अगुवाइमा रसोईका सञ्चालकलाई २५ बोरी चामल, दुई बोरी अरहरको दाल, दुई बोरी सोयाबिन, दुई बोरी आयोडिन नुन र एक बोरी आलु हस्तान्तरण गरिएको छ । त्यसैगरी नेपालगञ्जको कारकाँदो निवासी कपिल नेपालले पाँच बोरी चामल र एक बोरी दाल सहयोग गर्नुभएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले उक्त रसोई घरलाई मासिक रु एक लाख उपलब्ध गराउँदै आएको छ ।