विश्वराज तामाङ
उदयपुर जेठ ७
राज्यले दिएको जिम्मेबारी पुरा गर्दा धेरै जसो सार्वजनिक पदधारण गरेका व्यक्तिहरु पिडित र आलोचित बन्ने गरेको घटना नौलो हैन । उदयपुरको कटारीमा केहि दिन अघि भएको घटनाबाट स्थानिय जनप्रतिनिधि र कर्मचारीले यस्तै पिडा भोग्नु परेको छ । सरकारको नाममा रहेको सार्वजनिक जग्गा भुमाफियाले दिन प्रतिदिन अतिक्रमण गर्न थाले पछि त्यसको संरक्षण गर्दा कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ, उपप्रमुख भिमकुमारी राउत,वडा नम्बर ४ का वडाध्यक्ष कृष्णराज दनुवारको इलाका प्रशासन कार्यालय भएको घर र कर्मचारी ओम मिश्रको घरनै तोडफोड भयो । कटारी नगरपालिका वडा नम्बर ४ मा नेपाल सरकारको नाममा रहेको कित्ता नम्बर १०८ र ७८ को २ बिघा १४ कट्टठा जग्गा दिनदिनै भुमाफियाको अतिक्रमणमा पर्न थाले पछि स्थानियले निरन्तर खबरदारी गर्दै आएका थिए । सरकारको नाममा रहेको जग्गा भुमाफियाले दिन प्रतिदिन ओगट्दै बेचविखन गर्न थाले पछि कटारीका स्थानिय सुरेन्द्र थापा सहितका ६६ जनाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, प्रधानमन्त्री कार्यालय, ट्रान्सपरेन्सी ईन्टरनेशनलमा २०७२ सालमा उजुरी गरेका थिए ।
स्थानियले गरेको उजुरीको आधारमा अख्तियारले जिल्ला प्रशासन कार्यालय उदयपुर र कटारी नगरपालिकालाई स्थानियको उजुरको बिषयमा बास्तविक्ता बुझि प्रतिवेदन पेश गर्नका लागि परिपत्र गरेको थियो । अख्तियारको परिपत्रलाई अवलम्वन गर्दै जिल्ला प्रशासन कार्यालय उदयपुरले एक कार्यदल बनाएर स्थलगत अनुगमन पश्चात अख्तियारलाई प्रतिवेदन पठाए पश्चात अख्तियारले उक्त जग्गा सरकारी भएकाले संरक्षण गर्नका लागि कटारी नगरपालिकालाई २०७३ श्रावण २४ गते परिपत्र गरे पछि जग्गा संरक्षणको काम सुरु भएको थियो । यता उक्त जग्गालाई बेचविखन गर्ने र अतिक्रमण गर्ने क्रम भने नरोकिए पछि कटारी नगरपालिकाले २०७४ चैत २० गते उक्त जग्गामा बनाईएका घरटहरा भत्काउन हटाउनका लागि १५ दिने सार्वजनिक सूचना जारी गरेको कटारी नगरपालिकाका ईन्जिनियर ओम मिश्र बताउछन् ।
नगरपालिकाले १५ दिने सार्वजनिक सूचना जारी गर्दा पनि उक्त जग्गा खाली नहुदा स्थानियले जनप्रतिनिधिहरुलाई खबरदारी गर्दै आएका थिए । पटक पटक नगरपालिकाले सूचना जारी गर्दा समेत अटेर गरी उक्त स्थानमा घरटहरा बनाउने क्रम नरोकिए पछि कटारी नगरपालिका वडा नम्बर ४ ले नगरपालिकालाई उक्त स्थानको घरटहरा हटाउनका लागि २०७६ कात्तिक २८ गते नगरपालिकालाई निवेदन दिए पछि कार्यपालिकाको बैठकबाट उक्त स्थानको घरटहरा हटाउने निर्णय गरेको थियो । कार्यपालिकाको निर्णय पछि २०७६ मंसीर १ गते पुन १५ दिने सूचना प्रकाशित गरेर घरटहरा हटाउनका लागि सूचना जारी गरेको गरे पनि उक्त स्थानमा टहरा बनाएकाहरु कोहि पनि सम्पर्कमा नआएको र अटेरी गरेर बसेको नगर उपप्रमुख भिमकुमारी राउतले बताउनु भयो ।
यता पटक पटकको सूचनालाई वेवास्ता गर्दै उक्त स्थानमा घरटहरा नहटे पछि २०७७ भाद्र १२ गते नगरपालिकाले ७ दिने सूचना प्रकाशन गर्दै सार्वजनिक जग्गाको घरटहरा हटाउनका लागि आग्रह गरेको नगरपालिकाले जारी गरेको सूचनाको अभिलेख पाउन सकिन्छ ।
नगरपालिकाले पटक पटक घर टहरा हटाउन गरेको आग्रहलाई वेवास्ता गर्दै स्थानिय सन्त बहादुर सुनुवारले सार्वजनिक जग्गा भनिएकै स्थानको कित्ता नम्बर ७८ मा पक्की घर बनाउन सुरु गरे पछि कटारी नगरपालिका वडा नम्बर ४ को सिफारिसमा कटारी नगरपालिकाले २०७७ फागुन २५ गते सुनुवारको नाममा उक्त स्थानमा घर निर्माण रोक्न पत्रचार गरेको नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठ बताउनु हुन्छ ।
राज्यले तीन तहको स्थानिय सरकारको संरचना बनाएको छ, नगरपालिका स्थानिय सरकार हो सार्वजनिक सम्पतीको संरक्षण नगरपालिकाको दायित्व भएकाले हामीले पटक पटक उक्त स्थानमा घर टहरा हटाउन र नबनाउनको लागि आग्रह गर्दै आएका थियौ नगर प्रमुख श्रेष्ठ भन्छन् ।
हाल पिडित भनिएका सन्त बहादुरले सो समयमा घर बनाउनको लागि जग खन्ने काम गर्दै थिए हामीले फागुन २५ मा रोक्नको लागि आग्रह ग¥यौ नगरपालिकाले उक्त स्थानमा घर जग्गा नबनाउन सूचना जारी गरेको यो संग चौथो पटक हुदा सम्म पनि यो क्रम रोकिएन ।

कटारी नगरपालिकाले सन्त बहादुर सुनुवारलाई २०७७ फागुन २५ गते सार्वजनिक जग्गामा घर निर्माण रोक्न पठाएको पत्र
हामीले अन्तिम पटक २०७७ चैत २७ गते ३ दिने सूचना जारी ग¥यौ तर उक्त स्थानमा घर बनाउने क्रम रोकिएन अन्तत राता रात गर्दै घर बनाउने क्रम सुरु गरे पछि नगरपालिकाले बाध्य भएर डोजर लगाउन बाध्य भएको नगर प्रमुख श्रेष्ठको भनाई छ ।
एका तर्फ अख्तियार, अर्को तर्फ जिल्ला प्रशासनको परिपत्र कार्यान्वयन गर्नु पर्ने प्रेसर अनि स्थानियको दैनिक जसोको खबरदारी हामीमा थियो हामीले पटक पटकको आग्रह ग¥यौ तर उक्त आग्रहलाई नटेरे पछि बाध्य भएर हामीले घरटहरा हटाउनका लागि डोजर लगेर जानु प¥यो नगर प्रमुख श्रेष्ठ भन्छन् ।
उक्त स्थानमा रातारात घरटहरा बन्ने भए पछि हामीले मान्छे बस्दै आएको बाहेकका घर टहरा भत्काउने काम गरेका हौ उपमेयर भिमकुमारी राउत भन्नु हुन्छ । हामी पनि मानविय संवेदना बुझ्छौ तर सार्वजनिक जग्गामा पटक पटक सूचना जारी गर्दा पनि नयाँ संरचना बन्दा स्थानिय सरकार पनि टुलुटुलु हेरेर निरिह भएर बस्ने कुरा भएन हामी एक्सनमा उत्रिएका हौ ।

कटारी नगरपालिका ४ स्थित सार्वजनिक जग्गामा सन्त बहादुर सुनुवारले बनाउदै गरेको पक्की घर
कटारी नगरपालिकाका उपमेयर राउत उपाहार संगको कुराकानीमा भन्नु हुन्छ जेठ ५ गते जब नयाँ बन्दै गरेको र मान्छे नबसेको घर टहरा भत्काउन सुरु गरे पछि अराजक समुहले मेयर, उपमेयर र नगरपालिकाका कर्मचारीको घरमा तोडफोड गर्ने काम भयो हामीले राज्यले दिएको जिम्मेबारी पुरा गरेका थियौ कुनै अपराध गरेका थिएनौ । सामाजिक संजालमा कतिपय बिषयहरु अतिरन्जीत भएर आईरहेको प्रति नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठ दुःख व्यक्त गर्नु हुन्छ । निषेद्यज्ञाको समयमा मेयरले डोजर चलायो भनेका छन् तर हामीले मान्छे बस्दै आएको घरमा त्यसो गरेका हैनौ राती राती घर बनाउन थाले पछि हामीले खबरदारी गरेका थियौ ।
घटना पछि सामाजिक संजालमा एक तस्बीर भाईरल जतिकै भयो नगरपालिकाले भत्काएको एक टहरा नजिकै एक जना क्रियापुत्री देखिए, सामाजिक संजालमा यस्तो तस्बीर आए पछि सबैले त्यसलाई नगरपालिकाले मानविय संवेदना भुलेको भन्दै टिक्का टिप्पणी गरेको पाईयो । उपाहार न्यूजले उक्त तस्बीर र बास्तविकता कोट्याउदै जाने क्रममा केहि दिन अघि मृत्यु भएका मान बहादुर दनुवारका छोरा रहेछन् । उक्त टहरामा क्रियापुत्री बसेका रहेनछन् । घटना भए पछि मात्रै क्रियापुत्री उक्त स्थानमा आएका रहेको रहस्य पत्ता लाग्यो क्रियापुत्री सहितका परिवार कटारीकै सिम्ले देवी थान डाडामा रहदै आएको स्थानियहरुले बताए ।

कटारी घटनाको बिषयलाई लिएर स्थानिय नेत्र किरातीले फेसबुकमा पोष्ट गरेको सामाग्री

कटारीका एक स्थानियले सामाजिक संजालमा राखेका हाल क्रियापुत्री बस्दै आएको र घटना भएको स्थल गुगल म्यापमा
सार्वजनिक उक्त जग्गालाई लामो समय देखि भुमाफियाहरुले विक्रि गदै आएको स्रोत बताउछ । उक्त जग्गा स्थानिय बालकृष्ण थापा, गणेश थापा, सन्त बहादुर सुनुवार, गणेश दनुवार, जीतु दनुवार लगायतले हड्प्ने र विक्रि गर्दै आएको स्रोत दाबी छ ।
भुमाफियाले दिनदिनै अतिक्रमण गर्दै विक्रि गर्दै आएको जग्गा संरक्षण गर्दा जनप्रतिनिध र कर्मचारीको घरनै तोडपोड हुनु आफैमा दुःखद भएको स्थानिय संजिब कार्की बताउछन्


बैशाख ५ गते कटारी नगरपालिका प्रमुख र उपप्रमुखको तोडफोड भएको घर
उक्त घटनालाई लिएर नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीले आपत्ती समेत जनाएका छन् ।
यता बन्दै गरेको घर भत्काएर पिडित भनिएका सन्त बहादुर सुनुवारले आफुलाई सरासर अन्याय भएको बताए उनले आफुले खाई नखाई कमाएको रकमबाट बनाएको घर भत्काएर आफु माथि नगरपालिकाले अन्याय गरेको बताए । नगरपालिकाले पटक पटक सार्वजनिक जग्गा भएको स्थानमा घरटहरा हटाउनका लागि सूचना जारी गरेको रहेछ नी भन्ने प्रश्नमा उनले आफु प्रति पूर्वाग्रह राखेर घर भत्काउने काम भएको बताए । तर नगरपालिकाले जारी गरेको सूचनाको बिषय नगरपालिका संग दोहोरा छलफल गर्नु भएन नी भन्ने प्रश्नमा भने सन्त सुनुवार नाजवाफ छन् । घटना पछि अराजक समुह सक्रिय भए पछि यतिवेला स्थानिय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ, घटनामा संलग्न केहिल लाई नियन्त्रणमा लिएको र बाकी लाई खोजी गरी सार्वजनिक मुद्धा दायर गरिएको प्रहरीले जनाएको छ ।