उपाहार न्यूज
उदयपुर बैशाख ५
उदयपुरको कटारीमा
उदयपुरको कटारीमा सार्वजनिक जग्गा संरक्षण गर्दा स्थानिय जनप्रतिनिधिको घरमा तोडफोड गभएको छ । कटारी नगरपालिकाले सरकारी जग्गा संरक्षण गर्न खोज्दा बुधबार मेयरसहित जनप्रतिनिधि, कर्मचारीको घर, सवारीसाधन र इलाका प्रशासन कार्यालय तोडफोड भएको हो ।
वडानम्बर ४ जहडीमा रहेको सरकारी जग्गा अतिक्रमण गरी स्थानीयले बनाएको घर भत्काउने क्रममा उत्तेजित भिडले मेयर ज्ञानेन्द्र श्रेष्ठ, उपमेयर भिमकुमारी राउत, वडाध्यक्ष कृष्णराज दनुवार, इन्जिनियर ओम मिश्रको घर, इलाका प्रशासन कार्यालय र मदन भण्डारी राजमार्गको साइड अफिसले प्रयोग गरेको घरमा तोडफोड गरेका हुन् । नेपाल सरकारको नाममा रहेको कटारी ४ को कित्तानम्बर १०८ र ७८ को २ बिघा १४ कठ्ठा जग्गा स्थानीय सन्तबहादुर सुनवार, बालकृष्ण थापा, सुबास दनुवारको नेतृत्वमा रहेको भुमाफियाको समुहले राताराध धमाधम घर बनाउन थालेपछि संरक्षण गर्न खोज्दा आफुहरुको घरमा तोडफोड भएको मेयर श्रेष्ठले बताए ।
‘सरकारी जग्गामा सुनुवारले एउटा मात्र पक्की घर बनाउँदै गर्दा हामीले पटक–पटक छलफल गरी रोक्न आदेश दियौँ, उनले भने, ‘मौखिक र लिखितरुपमा धेरै पटक भन्दा पनि सुनवाई नभएपछि डोजर लगउन बाध्य भयौ । जग्गा संरक्षणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालयबाटसमेत पत्रचार भएपछि नगर कार्यपालिकाको बैठकमा छलफल पश्चात संरक्षण गर्ने निर्णय भएको उनले बताए ।
‘सरकारी जग्गा संरक्षण गर्नु स्थानीय सरकारको दायित्वलाई वेवास्ता ठानियो, उनले भने, ‘लकडाउनको मौकाछोपी अझ रातारात धमाधम टहरा बनाउन थालेपछि डोजर लगाउन बाध्य भयौ । उनले सार्वजानिक सम्पतीमा क्षति पुर्याउने व्यक्तिको एकिन गरी कार्वाही गर्न प्रशासनलाई आग्रह गरेका छन् । सरकारी जग्गा अतिक्रमण गरी सुनवारले दुई तले एउटा पक्का घर र ५ वटा बासका टहरा बनाएको मेयर श्रेष्ठले बताए ।
उक्त जग्गा भुमाफियाहरुले अतिक्रमण गरी तीन लाख रुपैँया धुरले विक्री गर्ने गरेको स्रोतले बताएको छ । भित्रिरुपमा जग्गा विक्री हुने गरेको र धमाधम घर बनाउन थालेको सूचना पाएपछि नगरपालिकाले पटक–पटक पत्राचार गरेको जनप्रतिनिधिको भनाई छ । घर भत्काएसँगै झण्डै एक सय जनाको संख्यामा निस्किएको उत्तेजित भिडले मेयर, उपमेयर, वडाध्यक्ष, नगरपालिका र प्रशासन कार्यालयको घरको झ्यालमा ढुंगामुढा गरी तोडफोड गरेका हुन् । तोडफोडबाट मेयरले चढ्दै आएको नयाँ टोइटा गाडी, छोराले प्रयोग गर्ने मोटरसाईकल, डोजर, दमकल, इलाका प्रशासन कार्यालयको स्कार्पियो गाडी, उपमेयरका श्रीमानले चढ्दै आएको स्कुटर, मोटरसाईकल, घरका सिसाहरु फुटेको नगरपालिकाका सूचना अधिकारी ओम मिश्रले जानकारी दिए ।
उपमेयर भिमकुमारी राउतले सरकारी जग्गा संरक्षण गर्दा आफ्ना निजी सम्पती र सरकारी सम्पतीमाथि तोडफोड भएको बताए । उनले जग्गा संरक्षणका लागि नगरपालिकाले सबै प्रकृया पुरा गरेको बताईन् । जग्गा संरक्षणका लागि अख्तियार र प्रशासनको पत्र आएपछि नगरपालिकाले घेराबेरासमेत गरेको बताईन् ।
जनप्रतिनिधि विरुद्ध नारावाजीसहित निस्किएको भिड नियन्त्रणका लागि स्थानीय प्रहरीलाई हम्मे हम्मे परेको थियो । प्रहरीले स्थिति नियन्त्रणका लागि केहि अश्रु ग्यास प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यालयका एसपी भिमबहादुर दाहालले अश्रुग्यास छोडेपछि स्थिति नियन्त्रणमा आएको बताए ।
प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाईले इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीबाट मात्र स्थिति नियन्त्रणमा नआएपछि जिल्लाबाट थप मद्धतका लागि सुरक्षाफौज पठाइएको बताए । उनले सरकारी जग्गा संरक्षण दायित्व राज्यको भएकाले कुनै सम्झौता नहुने बताए ।
उनले थप सुरक्षाकर्मी परिचालन गरेर भएपनि स्थिति नियन्त्रणमा लिने बताए । प्रजिअ सेडाईले सरकारी जमिन अतिक्रमण गरी व्यक्तिले घर बनाएकाले संरक्षणका लागि सुरक्षा प्रबन्ध मिलाई दिन मेयरबाट मंगलबार प्रशासनलाई पत्राचार भएको बताए ।
उता स्थानीयले भने निषेधाज्ञाको समयमा मेयरको आदेशमा डोजर लगाएर घर भत्काएकाले प्रतिकार गरेको बताएकाछन् । उनीहरुले सहज परिस्थितिमा भत्काउनुको साटो सरकारले नै घरभित्र बस्न आदेश गरेको अवश्थामा घर भत्काइएको बताएकाछन् ।