उपाहार न्यूज
उदयपुर चैत ११
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य गगन थापाले प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्ने काममा सबै दलहरु एकजुट भएर लाग्नु पर्ने बताउनु भएको छ । ओली नेतृत्वको सरकारले कुनै पनि ठाउँ पवित्र नछाडेकाले अब उनको विकल्प खोज्न सबै लाग्नु पर्ने बताउनु भएको हो । प्रधानमन्त्री ओलीले संसद विघटन गरेर अपराध गरेकाले अब उनकै नेतृत्वमा देश अघि बढे प्रजातन्त्र नाम मात्रको प्रजातन्त्र हुने उहाँको जीकिर थियो । नेता थापाले नेपाली कांग्रेस उदयपुरले नेपालटारमा बुधबारबाट सुरु गरेको जिल्ला सम्मेलनको उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो ।
उहाँले अब प्रधानमन्त्री केपी ओली नेतृत्वको विकल्प खोज्न कांग्रेसले अग्रसरता देखाउनु पर्नेमा जोड दिनु भयो कांग्रेस एक्लैले केहि गर्न नसक्ने भएकाले माओवादी केन्द्र र जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्ने या के गर्ने भन्ने बिषयमा चाडै निर्णयमा पुग्ने पर्ने बताउनु भयो ।
प्रधानमन्त्री ओलीले देशका सबै निकायहरुलाई आफ्नो प्रभावमा पारेर देशलाई बन्धक बनाउने काम गरेकाले अब थप देशलाई संकटबाट निकास दिनका लागि कांग्रेसको नेतृत्वमा सरकार बनाएर अघि बढ्नुको विकल्प नरहेको उहाँले बताउनु भयो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य लक्ष्मी परियारले वर्तमान सरकारले देश र जनताले दिएको अभिमतको अपमान गरेको बताउनु भयो । कार्यक्रमका विशेष अतिथि समेत रहनु भएकी परियारले वर्तमान सरकारले संविधान समेत धरापमा पर्ने गरी अलोकप्रिय निर्णयहरु गर्दै आएकाले तत्काल विकल्प खोजिनु पर्ने बताउनु भयो ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रमिला राई, नेपाली कांग्रेस उदयपुरका पूर्व पार्टी सभापती तथा संविधान सभा सदस्य नारायण बहादुर कार्की, पूर्व पार्टी सभापती तथा प्रदेश सभा सदस्य हिमाल कार्की, काग्रेस उदयपुरका सभापती विदुर बस्नेत, प्रदेश सभा सदस्य संजा दनुवार, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापती भोजराज खतिवडा, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापती रामकुमार खत्री, कांग्रेस नेता अर्जुन खड्का लगायतले सम्मेलनको उद्घाटन शत्रमा आफ्ना भनाईहरु राख्नु भएको थियो ।

विहिबार सम्म संचालन हुने सम्मेलनमा पार्टीको सांगठनिक गतिविधिको अबस्था तथा आगामी रणनितिको बिषयमा छलफल हुने कांग्रेस उदयपुरले जनाएको छ ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एक सय बढि कांग्रेस प्रवेश गरेका छन् राप्रपाका जिल्ला स्तरका नेता केशव पाण्डे, नेपाल कम्युनिष्ट पार्टी त्रियुगा नगरपालिका वडा नम्बर ८ का अध्यक्ष कपीलमणी दाहाल, उदयपुरगढि वडा नम्बर ६ मा एमाले बाट वडा सदस्यको उम्मेदवार भएका गौरीशंकर कोइराला लगायत पार्टी प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई कांग्रेस नेता गगन थापाले अबिर लगाएर स्वागत गर्नु भएको थियो । कार्यक्रममा नेपाली कांग्रेस उदयपुरका पूर्व पार्टी सभापती तथा कांग्रेस नेता अर्जुन खड्काको जीवनमा आधारित पुस्तकको समेत विमोचन गरिएको थियो । कार्यक्रममा प्रजातान्त्रीक सेनानी संगै २०७४ सालको निर्वाचनमा वम विस्फोटमा परी घाईते भएका कांग्रेस उदयपुरका पूर्व पार्टी सभापती तथा संविधान सभा सदस्य तत्कालिन प्रतिनिधि सभा सदस्य उम्मेदवार नारायण बहादुर कार्की, नेविसंघका नेता मिरा कटुवाल, सवारी चालक राजन कार्की लाई दोसल्ला ओडाएर पार्टीले सम्मान गरेको थियो ।