उपाहार न्यूज
उदयपुर श्रावण १
उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा जनता धनी हुने कार्यक्रमको रुपमा अघि सारिएको अध्यक्ष कृषि परियोजनाले पकेट क्षेत्रको रुपमा व्यवसायिक तरकारी खेती उत्पादन गर्नका लागि कृष्कहरुलाई कृषि सामाग्री वितरण गरेको छ । स्थानिय नागरिकहरुलाई कृषि मा सहभागी गराएर समृद्धि हासिल गर्न सकिने उद्देश्यका साथ गाउँपालिका अध्यक्ष मेजरकुमार राईले परिकल्पना गरेको कार्यक्रम संचालन भए संगै स्थानिय नागरिकहरुले कृषि कर्म तर्फ लागि परेका छन् । अध्यक्ष कृषि कार्यक्रम अन्तर्गत वेमौसमी व्यवसायीक तरकारी खेतीको लागि गाउँपालिकाले ७० थान टनेल,५५ थान मल्चिङ,५५ थान थोपा सिंचाई सेट,४० थान स्प्रेयर टंकी ,टमाटरको विउ १०ग्रामको ६५ प्याकेट,सायोको विउ ६५ प्याकेट परियोजानबाट कृषकलाई निशुल्क रुपमा वितरण गरिएको अध्यक्ष मेजरकुमार राईले जानकारी दिनु भयो ।
निर्बाहामुखी र परम्परागत ढाँचालाई बदलेर कृषकहरुलाई व्यवसायिक कृषि तर्फ डोर्याउनका लागि पालिकाले नितिगत व्यवस्थानै गरेर कार्यक्रम अघि सारिएको अध्यक्ष राईले उपाहारन्यूजलाई जानकारी दिनु भयो ।

अध्यक्ष कृषि परियोजना अन्तर्गत गाउँपालिकाका स्थानिय पशुपालक कृष्कहरुलाई २४ वटा बयर जातको बोका समेत वितरण गरिएको छ । गाउँपालिकामा कृषि संगै पशुपालनको पनि संभावना राम्रो भएकाले कृष्कहरुको लागि वयर जातको वोका निःशुल्क वितरण गरिएको लिम्चुङबुङ गाउँपालिकाका कृषि शाखा प्रमुख गगन राईले जानकारी दिनु भयो ।

अध्यक्ष कृषि परियोजना अन्तर्गत किविको विरुवा, कागती खेतीको विरुवा, मकैको निःशुल्क विउ वितरण गरिएको गाउँपालिकाले जनाएको छ । कृषिलाई व्यवसायीक रुपमा विकास गर्नका लागि पालिकाले कृष्कहरुको लागि गाउँपालिकको ७५ प्रतिशत लगानीमा १० थान मिनिटिलर वितरण गर्ने तयारीमा रहेको जनाएको छ । गाउँपालिकाले आर्थिक बर्ष २०७७/०७८ मा कृषिलाई विशेष प्राथमिक्ताका साथ अघि बढाईएको गाउँपालिका अध्यक्ष मेजर राईले बताउनु भयो । गाउँपालिकाको जनतालाई समृद्ध बनाउन र व्यवसायीक बनाउनका लागि पालिकाले बार्षिक निति तथा कार्यक्रममानै समावेश गरेर योजना निर्माण गरेर अघि बढेको अध्यक्ष राईले बताउनु भयो ।