उपाहार न्यूज
उदयपुर असार ३
नेपाली कांग्रेस उदयपुरले मंगलबार उदयपुरका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बझाएको छ । पछिल्लो समय कोरोनाका कारण देशमा विकराल समस्या सृजना भएको भन्दै उदयपुरको अबस्था समेतलाई समेटेर प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाईएको नेपाली कांग्रेस उदयपुरका सभापती विदुर बस्नेतले जानकारी दिए । नेपाली कांग्रेसको जेठ २६ गते सानेपामा सम्पन्न बैठकको निर्णय अनुसार जेठ २८ गते कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वले नेपाल सरकारको ध्यानकर्षण गराएको थियो ।
नेपाली कांग्रेस उदयपुरका अगुवा नेता तथा कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालय पुगेर मंगलबार दिउसो प्रमुख जिल्ला अधिकारी दिपककुमार पाहाडिलाई १० बुदे ज्ञापन पत्र बुझाएको हो । ज्ञापनपत्रमा कोरोनाबाट उत्पन्न समस्या र त्यसमा नेपाल सरकारले गम्भीरता नदेखाएको प्रति ध्यानकर्षण गराईएको छ । सरकारले कोरोना रोकथामको लागि १० अर्ब बढि खर्च गरेको अबस्थामा खर्च भएको रकमको सहि सदुपयोग नभएको कांग्रेले औल्याएको छ । संचारकर्मी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत अग्रभागमा रहेर काम गर्ने व्यक्तिहरुको लागि सरकारले कुनै पनि विशेष सुरक्षाको व्यवस्था नगरेको प्रति समेत ज्ञापन पत्रमा ध्यानकर्षण गराईएको नेपाली कांग्रेस उदयपुरले जनाएको छ ।