उदयपुर, जेठ ११ । ठगी मुद्दामा फरार उदयपुरको हडिया घर भई काठमाडौं महानगरपालिका–१६ बस्ने ३५ वर्षीय दिलीपकुमार चौधरी पक्राउ परेका छन् । काठमाडौं जिल्ला अदालतबाट २०६९ साल कात्तिक २७ को फैसलाले २० लाख ९५ हजार जरिवाना र एक वर्ष कैद सजाय ठहर भई फरार चौधरीलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सुनसरीबाट पक्राउ गरेको हो ।
२०६६ देखि काठमाडौंको वनस्थली स्थित आधुनिक बहुउद्देश्यीय सहकारी संस्थामा लेखा प्रमुखका रुपमा कार्यरत रहेका चौधरीले आर्थिक वर्ष २०६७–६८ मा पटकपटक गरी संस्थाको रकम बैंकमा जम्मा गरेको भनी रकम ठगी गरेका थिए । पक्राउ परेका चौधरीलाई फैसला कार्यान्वयनका लागि सुनसरी जिल्ला अदालत पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि शुक्रवार कारागार कार्यालय झुम्का पठाएको ब्यूरोका प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिनुभयो ।