उदयपुर, जेठ ११ । उदयपुरको त्रियुगा नगरपालिका १ जोगिदहका ३० बर्षीय शुशिलकान्त चौधरीको हत्याको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका तीनै जनालाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधिश तेजेन्द्रप्रसाद शर्माको एकल इजलासले चौधरी हत्याको कसुर ठहर गर्दै स्थानीय २५ बर्षीय सन्चमाया तामाङ, उनका भिनाजु ३१ बर्षीय तिलक बहादुर तामाङ र काका ३७ बर्षीय शंकर बहादुर तामाङलाई यस्तो फैसला सुनाएको हो । ०७५ असार २५ गते चौधरीलाई हत्या गरेको आरोपमा प्रहरीले मृतक परिवारको जाहेरी अनुसार ८ जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो । प्रहरीले सबैजना विरुद्ध मुद्दा चलाएकोमा अदालतले कसुरदार तीन जनालाई साउन २१ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।
बाँकी ५ जनामध्ये १३ बर्षीया धनमाया तामाङ, १८ बर्षीय सोममाया, १९ बर्षीया हिरामाया र १८ बर्षीया राजकुमारी तामाङलाई ७५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । असार २५ गते खाना खाएर गाउँतिर गएका चौधरी घर नफर्किए पछि परिवारले असार २६ गते प्रहरी चौकी जोगिदहमा खोजतलास गरी पाउँ भन्दै निवेदन दिएका थिए । खोज तलासकै क्रममा असार २९ गते नजिकैको कङखोला किनारामा बालुवाले पुरी एउटा हात वाहिर निस्किइ स्यालले खाएको अबस्थामा शव फेला परेपछि प्रहरीले घटना अनुसन्धान प्रकृया सुरु गरेको थियो । फेला परेको शव प्रहरीले उत्खनन गर्नेक्रममा मृतकको छातीमा चुप्पीले रोपिएको घाउँ देखिएपछि घटना थप रहस्यमय रहेको भन्दै प्रहरीले अनुसन्धानलाई फराकिलो बनाएको थियो ।
आरोपित सञ्चमायाको घरमा राती पुगेका मृतकलाई सन्चमायाले कोठाभित्र पस्नसाथ चुप्पीले छातीमा रोपेर ढालेको र दाउँले हानी मारेको वयान दिएको जिल्ला प्रहरी कार्यलय उदयपुरका एसपी चन्द्रदेव राईले जानकारी दिनुभयो । साथै हत्यापछि भिनाजु र काकालाई बोलाएर घटनाको वेलिबिस्तार गरी लास गायव बनाउन पठाएको पनि वयानबाट खुलेको थियो । सन्चमायाकै निर्देशनमा मृतकको लास तन्नाले बेरी खोलामा लगेर खाल्डो खनी पुरिएको उनीहरुले प्रहरी सामु वयान दिएका थिए ।