देबराज राई-
धर्तुङ, बैशाख १५ । खोटाङको बराहपोखरी गाउँपालिका वडा नम्बर– ४ का लागि दुई ठाउँमा क्वारेन्टाईन निर्माण गरिने भएको छ । सोमबार (आज) बसेको वडास्तरीय जनप्रतिनिधि सम्मीलित बैठकले कोछाले र मंसिङटाँरमा क्वारेन्टाईन राख्ने निर्णय गरेको हो ।
पछिल्लो समय राजधानी काठमाडौं, धरान, बिराटनगर र गाईघाटलगायतको ठाउँबाट स्थानीय रोजगारीमा रहेका सर्वसाधरण आफ्नो गाउँ आउनेक्रम बढेपछि उनीहरुलाई १४ दिन सुरक्षित राख्न क्वारेन्टाईन व्यवस्था गरिएको वडाअध्यक्ष भुवलराज राईले जानकारी दिए । वडाध्यक्ष राईका अनुसार सो क्वारेन्टाईन स्थानीय सक्रिय व्यक्तिहरुको रेखदेख, नियमित निगरानीमा रहनेछ ।
४ नम्बर वडाको कोछालेस्थित स्थानीय बालकन्या आधारभूत विद्यालय र मंसिङटाँरको जाल्पा आधारभूत विद्यालय तत्काल क्वारेन्टाईनको रुपमा प्रयोग गरिनेछ । विश्व स्वास्थ्य संगठनले तयार पारेको मापदण्डकै आधारमा रहनेगरी प्रत्येक क्वारेन्टाईन २० का दरले करिब ४० जना बस्न सक्ने व्यवस्था गरिएको वडाध्यक्ष राईको भनाई छ ।
दुई हप्तासम्म क्वारेन्टाइनमा बस्नेहरुका लागि ह्याण्ड सेनीटाइजर र हात धुने साबुन, डिटोल, लिक्विड र शौचलय नियमित सफा गर्नका लागि फिनेललगायतका स्वास्थ्य सामग्री पनि वडा कार्यालयबाटै उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तै क्वारेन्टाईनमा रहनहरुलाई आवश्यक ओढ्ने, ओछ्याउने, कपडा र खाना आफ्नै घरपरिवारबाट व्यवस्था गरिनुपर्ने निर्णय गरेको छ ।
हरेक क्वारेन्टाइनको अवस्था निगरानी र सहयोग, सुरक्षा ब्याबस्था समन्वयका लागि ११ सदस्यीय सुरक्षा समितिसमेत गठन गरिएको छ । कोछालेमा रहेको क्वारेन्टाइन नेकपा जिल्ला नेतृ निसाना राई र मंसिङ्टार क्वारेन्टाइनका लागि जनप्रतिनिधि (४ नम्बर वडासदस्य राजकुमार मगरको संयोजकत्वमा निगरानी रहनेछ । क्वारेन्टाईन निगरानी समितिलाई भने गाउँपालिका कार्यालयबाटै दैनिक खाना र खानाको खर्च उपलब्ध गराउन अनुरोध गर्ने निर्णय भएको छ ।
‘धाप्लाङ पुलको चिन्ता’
बिना चेकजाँच संक्रमित व्यक्तिहरु रातारात गाउँ गाउँ प्रवेश गर्न सक्ने भन्दा बराहपोखरी गाउँपालिका वडा नम्बर ४ छिर्ने मुख्य नाका (पुल) यसअघिनै राती हिड्नै नमिल्ने गरी ताला लगाईएको छ । कम्पु पुलको बीच भागमा लगाइएको ताला बिहान ७ः०० देखि साँझ ७ः०० बजेसम्म मात्र खुल्ने गरेको छ । जहाँ प्रहरी र स्वास्थ्यकर्मीको टोलीले कडा चेकजाँच गरेपछि मात्र छिर्नदिने व्यवस्था गरिएको छ । वडा छिमेकी जिल्ला उदयपुरको सदरमुकाम गाईघाट नजिकै भुल्के नुरी मस्जीदमा दर्जनौ कोभिड–१९ (कोरोना) संक्रमित भेटिएपछि वडाले थप नाका प्रवेशमा कडाई गरेको वडाध्इक्ष भुवलराज राईको भनाई छ ।
तर, कम्पु पुलमा कडाई गरिएसँगै तराई तथा सहरी क्षेत्रबाट गाउँपालिका प्रवेश गर्ने मुख्य नाका उदयपुर खोटाङ जोड्ने मुख्य धाप्लाङ पुलबाट जथाभाबी रातीको समय सर्वसाधरण छिर्नेक्रम बढेकाले संक्रमणको चिन्ता बढाएको वडाध्यक्ष राई बताउछन् । ‘दैनिक ३० देखि ४० जना मानिस धाप्लाङ पुलबाट गाउँपालिका छिर्न थालेका छन्’ राईले भने, ‘यो संक्रमण रोक्नका लागि भइरहेको पहललाई चुनौति दिने विषय हो ।’
गाउँपालिकालाई संक्रमणको जोखिमबाट जोगाउन अन्य ठाउँबाट आउने जो कोहीलाई पनि सुरक्षित क्वारेन्टाईनमा राख्ने व्यवस्था गरिएको छ । तर, जनप्रतिनिधिकै दाबी अनुसार रात दिन गरी दैनिक दर्जनौ सर्वसाधरण गाउँ छिर्ने गरेपनि हाल बराहपोखरी गाउँपालिकाको क्वारेन्टाईनमा भने मुस्कीलले ८ जना व्यक्ति मात्र राखिएका छन् । सहरबाट गाउँ छिर्ने अन्य थुप्रै व्यक्तिको खोजी र निगरानी अपर्याप्त देखिएको स्थानीयको गुनासो छ ।