smart smart smartविश्वराज तामाङ
गाईघाट सदरमुकामाबाट ७३ किलोमिटर उत्तरमा रहेको विकट पहाडि भुभागले भरिएको लिम्चुङबुङ गाउँपालिका पर्यटनको प्रचुर संभावना बोकेको भुगोल हो । राज्यको पुनसंरचना पछि साविकको जाते, बलम्ता, ताम्लीछा, बाराह र बास्बोटे गरी ५ गाविस मिलेर बनेको लिम्चुङबुङ गाउँपालिका पर्यटनको गतिलो गनतव्य बन्न सक्ने क्षेत्र हो ।
स्थानिय पूर्वाधार विकासमा बामे सर्दै गरेको लिम्चुङबुङ पुग्नको लागि उदयपुर सदरमुकमाबाट गाडिमा झण्डै पाँच घण्टा र मोटरसाईकलमा तीन घण्टा यात्रा गर्दा लिम्चुङबुङ गाउँपालिका पुगीन्छ ।
प्राकृतिक रुपमा सुन्दर र मनमोहक दृश्यावलोकन गर्न मिल्ने लिम्चुङबुङ गाउँपालिका जिल्लाको विकट गाउँपालिका भए पनि पर्यटनको प्रचुर संभावना बोकेको क्षेत्रको रुपमा लिन सकिन्छ ।

लिम्चुङबुङ गाउँपालिकाले पर्यटनलाई आफ्नो मुख्य प्राथमिक्तामा राखेर योजना बनाउदै अघि बढेको छ । लिम्चुङबुङ गाउँपालिकाको दोबाटे गाउँपालिकको सबै भन्दा अग्लो स्थान हो जहाँ गाउँपालिकाले एभरेष्ट भ्यूटप निर्माण गरेको छ । एभेरष्ट भ्यूटपबाट छिमेकी जिल्ला खोटाङको हलेसी महादेव मन्दिर संगै सगरमाथा लगायतका हिमश्रृखलाहरु प्रष्ट संग देख्न सकिन्छ ।

२०७५ बैशाखमा नयाँ बर्षको अबसरमा एभरेष्ट भ्यूटप निर्माण समितिले ५ दिन सम्म पर्यटन महोत्सव समेत आयोजना गरेको थियो । प्राकृतिक रुपमा सुन्दर र मनमोहक दृश्यवलोकन गर्न सकिने लिम्चुङबुङ गाउँपालिकालाई खुल्ला संग्राहको रुपमा लिईने गाउँपालिका प्रमुख मेजरकुमार राई बताउनु हुन्छ ।

गाउपँलिकामा पर्यटक लोभ्याउने धेरै स्थानहरु छन्, जस्को गाउँपालिकाले प्रबद्र्धनको अभियान समेत थालनी गरेको छ । खोटाङ जिल्ला संग सिमाना रहेको गाउँपालिकाले खोटाङको हलेसी तुवाचुङ नगरपालिका संगको सहकार्यमा पर्यटनलाई गुरु योजनाको रुपमा विकास गर्ने गरी अघि बढेको छ ।
खोटाङको हलेसीमा बर्सेनी लाखौको संख्यामा दर्शन गर्न आउने श्रद्धालु तथा पर्यटकहरुले लिम्चुङबुङ गाउँपालिका सम्म आएर हिमश्रृखला प्रत्यक्ष अवलोकन गर्दै प्राकृतिक सुन्दरताको भरपुर मनोरम दृश्यहरु लिन सकिने भएकाले गाईघाट लिम्चुङबुङ हलेसी सडक संजाल विस्तारको लागि काम भैरहेको पालिकाले जनाएको छ ।

प्राकृतिक सुन्दरता संगै लिम्चुङबुङ गाउँपालिकामा पर्यटकलाई तान्ने अर्को माध्यम भनेको यहाँको मौलिक संस्कृति हो । विभिन्न जातजाती, भाषा, धर्म संस्कृतिको बसोबास रहेको क्षेत्र भएकाले पनि यहाँ पर्यटकलाई स्वागत गर्न स्थानिय नागरिकहरु आतुर रहेका छन् ।
गाउँपालिकाको वडा नम्बर २ ताम्लीछामा मगर गाँउ होम स्टे संचालनमा रहेको छ । एक बर्ष अघिबाट संचालनमा आएको मगर गाउँ होम स्टेमा विभिन्न स्थानबाट पर्यटक पाहुनाहरुको सत्कार समेत भैसकेको छ । आफ्नो मौलिक संस्कृतिको प्रस्तुती संगै पर्यटकलाई स्वागत गर्नका लागि मगर होम स्टे तयारी अबस्थामा रहेको छ ।

मौलिक संस्कृति संगै स्थानिय अर्गानिक खानपान होम स्टेमा पर्यटकहरुलाई आकर्षण खिच्ने मगर गाउँ होम स्टे लिम्चुङबुङ २ ताम्लीछाका अध्यक्ष तेज बहादुर मगर बताउछन् ।

लिम्चुङबुङमा आउने पर्यटकलाई स्वागत गर्नका लागि मगर गाउँ हो स्टे र नमुना दलित होम स्टेका लागि संयुक्त पाहुना घर निर्माणको लागि चालु आर्थिक बर्षमा गाउँपालिकाबाट १० लाख र लिम्चुङबुङ वडा नम्बर २ ले १० लाख गरी २० लाख रुपैया विनियोजन भए संगै पाहुना घर बन्ने भएको छ ।
होम स्टेबाट प्रष्ट संग आठ वटा हिमालको दृश्यवलोकन गर्न सकिने र सुनकोसी नदि बगेको प्रष्ट संग देख्न सकिने भएकाले होम स्टे थप पाहुनाहरुको लागि विशेष हुने जिल्ला समन्वय समितिका उदयपुरका सदस्य तथा स्थानिय नागरिक बोधकुमार मगर बताउनु हुन्छ ।
सरकारले भ्रमण बर्ष २०२० मनाई रहदाँ एक गाउँ एक पहिचानको नारा सार्थक बनाउने हो भने उदयपुरको लिम्चुङबुङ गाउँपालिका पर्यटनको प्रचुर संभावना बोकेको गाउँपालिका भएकाले यहाँ अझ पनि पूर्वाधार विकासका लागि सरकारको नजर पर्न जरुर आवश्यक छ ।