उदयपुर, वैशाख २२ ।
उदयपुरमा हाईड्रोसीलका बिरामीलाई निशुल्क उपचार (शल्यक्रिया) सुरु भएको छ । हाईड्रोसीलबारे सर्वसाधरणले कुरा गर्न र स्वास्थ्य संस्थामा गएर उपचार गर्न असहज मान्ने गरेकै कारण समस्या जटिल बन्दै गएको भन्दै उदयपुर जिल्ला अस्पतालले शुल्करहित स्वास्थ्य उपचार थालेको हो ।
उदयपुरका लागि स्रोत व्यक्ति (फोकल पर्सन) डाक्टर निर्मला चौधरीका अनुसार यो वर्ष ५० जनाको निशुल्क अपरेशन गरिनेछ । अघिल्लो वर्ष भने जम्मा २० जना हाईड्रोसीलका बिरामीले मात्र स्वास्थ्य उपचार पाएका थिए ।
बोक्सेस्थित जिल्ला अस्पतालको सभाहलमा पत्रकार सम्मेलन गरी अभियानबारे जानकारी दिइएको हो । नियमित वार्षिक कार्यक्रमअन्तर्गत क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटाले यही वैशाख १८ गतेबाट काम थाल्न पत्र पठाएको स्रोत व्यक्ति चौधरीको भनाई छ । निशुल्क शल्यक्रिया कार्यक्रम वैशाख १८ देखि असार मसान्तसम्म जारी रहनेछ ।
जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) ज्ञानेन्द्र झाका अनुसार निशुल्क हाईड्रोसील उपचारका लागि प्रतिव्यक्ति उपचारका लागि ७ हजार रकम प्राप्त हुने गरेको छ । सोही रकमबाट हुने शल्यक्रिया दुवै पट्टी गर्नु पर्ने अवस्था भए १४ हजार रकम लाग्ने भएपनि असार मसान्तभर सम्पूर्ण खर्च निशुल्क हुनेछ ।
जिल्लाको ८ पालिकामध्ये तीन स्थानीय तहमा कार्यक्रम संचालन भइसकेको छ । लिम्चुङबुङ, ताप्ली र रौतामाई गाउँपालिकामा कार्यक्रम सकिएको छ भने बाँकी त्रियुगा नगरपालिका, बेलका नगरपालिका, चौदण्डीगढी नगरपालिका, कटारी र उदयपुरगढी गाउँपालिकामा भने बाँकी रहेको छ । व्यवस्थापसँगै केही दिनभित्र यी पालिकाहरुमा पनि तत्काल कार्यक्रम संचालन गरिने फोकल पर्सन चौधरीले बताइन् ।
अण्डकोशको बाहिरी भागमा पानी जम्मा हुनुलाई हाइड्रोसिल भनिन्छ । यो एक वा दुवै अण्डकोषमा हुन सक्ने डाक्टर निर्मलाको भनाई छ । पानी भरिएपछि अण्डकोश सुनिएको जस्तो देखिए पनि दुखाई भने हुदैन । प्रायः समय नपुगी जन्मेको बच्चाहरुमा यस्तो समस्या देखिने गरेको स्वास्थ्य विज्ञहरु बताउछन् ।