उदयपुर, फागुन ४ ।
उदयपुर सदरमुकाम गाईघाटबाट एक होटल व्यवसायी पक्राउ परेकी छन् । युवतिहरुलाई बिभिन्न प्रलोभन देखाएर यौन क्रियाकलापमा सहभागी गराएको आरोपमा ३५ वर्षीया महिला पक्राउ परेकी हुन् ।
जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर १ जोगीदह घर भई त्रिनपा १२ गाईघाटमा होटल संचालन गर्दै आएकी देवकुमारी चौधरीलाई बिहीबार पक्राउ गरिएको हो । उदयपुर प्रहरी प्रवक्ता हरिनन्दन चौधरीका अनुसार ति देवकुमारीले लामो समयदेखि युवतिहरुलाई बिभिन्न लोभ लालच देखाएर यौन क्रियाकलापमा सहभागी गराउदै आएकी थिइन् ।
विशेष स्रोतबाट प्राप्त सूचनाको आधारमा जिप्रका उदयपुरबाट खटिएको विशेष टोलीले उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकी महिलालाई मानव बेचबिखन मुद्दामा कानुनी कारवाहीका लागि अनुसन्धान गर्न ५ दिनको म्यादसमेत जिल्ला अदालत उदयपुरमा थप गरिएको छ । अघिल्लो दिन मात्र एक पुरुष होटल संचालक पनि युवतिलाई यौन क्रियाकलापमा लगाइरहेको आरोप पछि पक्राउ परेका थिए ।