उपहार न्यूज
उदयपुर असार ९
राजधानीमा जारी अन्तर नगरपालिका उपमेयर कप महिला फुटबल प्रतियोगितामा उदयपुरको चौदण्डिगढि नगरपालिका सेमिफाईनलमा पुगेको छ । चौदण्डिगढि नगरपालिकाले सोमबार सम्पन्न खेलमा नवलपरासीको कावासेती नगरपालिकालाई २–० शुन्य गोल अन्तरले पराजित गरेको हो ।
उदयपुरको जीतमा अनुस्का शेर्पाले दुई गोल गर्न सफल भएका थिए, चौदण्डिगढि नगरपालिकाले अब सेमिफाईनलमा विराटनगर महानगरपालिका संगको भेट पक्का गरेको छ ।
चौदण्डिगढि नगरपालिकाले यस अघि पोखरा महानगरपालिकालाई ७–० गोल, हेटौडा उपमानगरपालिकालाई ५–२, सुर्खेतको बीरेन्द्रनगर नगरपालिकालाई ८–० गोल अन्तरले पराजित
गरी सकेको छ । यता मंगलबार विराटनगर महानगरपालिका संग सेमिफाईनल खेलका लागि खेलाडिहरु उच्च मनोवलका साथ मैदान प्रवेश गर्ने तयारीमा रहेको चौदण्ढिगढि नगर खेलुकद विकास समितिका अध्यक्ष भास्कर चौधरीले बताए ।
यता विराटनगर महानगरपालिका, विदुर नगरपालिकालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । हलचोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा भएको समूह चरणको अन्तिम खेलमा विराटनगरले विदुर नगरपालिकालाई ३–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । यो खेलसँगै उक्त प्रतियोगिताको सेमिफाइनल समीकरणसमेत पूरा भएको छ । विराटनगरसँगै चौदण्डीगढी, वालिङ र बाह्रबिसे नगरपालिका सेमिफाइनलमा पुगेका छन् । विराटनगरको जितमा राष्ट्रिय टोलीका सदस्य रेखा पौडेल, इमा राई र सावित्री मगरले एक÷एक गोल गर्नुभयो । पराजित विदुरका लागि भने अनु लामा र तारा थिङले एक÷एक गोल फर्काउनुभयो । जितसँगै समूह डीबाट तीन खेल खेलेको विराटनगरले तीनै खेलमा अपराजित रहँदै शीर्ष नौ अङ्क जोडेको छ । यता पराजित विदुर नगरपालिका छ अङ्क जोड्दै प्रतियोगिताबाट बाहिरियो ।
भोलिदेखि हुने सेमिफाइनल खेलमा विराटनगरले चौदण्डीगढी नगरपालिकाको सामना गर्नेछ । यस्तै अर्को सेमिफाइनलमा वालिङ र बाह्रबिसे नगरपालिकाबीच खेल हुनेछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को महिला समितिद्धारा आयोजित उक्त प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख तथा उपविजेताले रु तीन लाख पाउनेछ ।