उपाहार न्यूज
उदयपुर फागुन १३
कृषिलाई व्यवसायीक उत्पादन बढाउनका लागि उदयपुरगढि गाउँँपालिकामा आयोजित तीन दिने माटो परिक्षण शिविरमा एक सय ३५ जना कृषकहरुले माटो परिक्षण गराएका छन् । गाउँपालिका कृषि विकास शाखाको आयोजनामा सोमबार देखि सुरु भएको शिविर बुधबार सम्पन्न भएको हो । स्थानिय कृषकहरुले विगत देखि गर्दै आएको परम्परागत खेतीलाई व्यवसायीक खेती तर्फ उन्मुख गराउनका लागि उत्पादन बढाउनका माटो परिक्षण शिविर आयोजना गरिएको हो ।
उदयपुरगढि गाउँपालिकाको ८ वटै वडाका कृषकहरुले परिक्षण गराएको माटोको ल्याब रिपोर्ट समेत प्राप्त भएको र अब स्थानिय वडाहरु मार्फत ल्याब रिपोर्ट वितरण गरेर कृषि उत्पादनलाई जोड दिने योजना रहेको गाउँपालिकाका कृषि विकास शाखा प्रमुख पारस फुयलले जानकारी दिनु भयो ।
माटो परिक्षणबाट माटोको अम्लीय र छारियपना साथै जैविक तत्वहरुको बिषयमा थाहा पाए पछि कृषकलाई कृषि उत्पादनका लागि परामर्श दिन सहज हुने भएकाले माटो परिक्षण शिविर आयोजना गरेको फुयलले जानकारी दिनु भयो । उदयपुरगढि पहाडि र तराई भुभागमा फैलिएकाले भौगोलिक अबस्था अनुसारका कृषकहरुले कृषि उत्पादन गर्दै आएका छन् । गाउँपालिकाको तराई भुभागका किसानहरुले खाद्यन्न, तरकारी बाली उत्पादन गर्दै आएका छन् भने पाहाडि भुभागमा तरकारी, फलफुल लगायतका उत्पादन गर्दै आएको गाउँपालिकाले जनाएको छ ।
माटो परिक्षणबाट प्राप्त नतिजाको आधारमा भौगोलिक क्षेत्र अनुसार किसानहरुलाई विउ तथा प्राविधिक सहयोग गर्दै व्यवसायीक उत्पादनमा जोड दिने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासीकय अधिकृत माधव सुवेदिले जानकारी दिनु भयो ।
माटो तथा मल परिक्षण प्रयोगशाला झुम्का सुनसरीको प्राविधिक सहयोग तथा बाल विकास समाज नेपाल र सेभ चिल्ड्रेनको समन्वयमा गाउँपालिकामा माटो परिक्षण प्रयोगशाला सम्पन्न भएको हो ।