Upahar News शुक्रबार, कार्तिक २१ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

वैदेशिक रोजगारीको प्रलोभनमा उदयपुरका युवक ठगिए, रकम र पासपोर्ट लिएर व्यक्ति सम्पर्कविहीन

  • उपहार न्यूज
  • बुधबार, कार्तिक १९ २०८३
वैदेशिक रोजगारीको प्रलोभनमा उदयपुरका युवक ठगिए, रकम र पासपोर्ट लिएर व्यक्ति सम्पर्कविहीन

‎उदयपुर । वैदेशिक रोजगारीका लागि दुबई पठाइदिने भन्दै २ लाख ९४ हजार रुपैयाँ र पासपोर्ट लिएर एक व्यक्ति सम्पर्कविहीन भएको पीडितले आरोप लगाएका छन्। ‎ ‎उदयपुरको बेलका नगरपालिका–६, बुद्धचोक, रामपुर–ठोक्सिला निवासी २५ वर्षीय मिलन राईले बराहक्षेत्र नगरपालिका–३, बीचपानी, इक्राई चोक निवासी २६ वर्षीय अर्जुन राउतले आफूलाई वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाएर रकम तथा पासपोर्ट लिएको बताएका छन्। ‎ ‎पीडित राईका अनुसार राउतले उनलाई दुबईस्थित रिडा कम्पनीमा काम लगाइदिने आश्वासन दिएका थिए। गाडीको एसी सफा गर्ने काम हुने, दिनमा एउटा गाडी सफा गरेपछि काम सकिने र दैनिक हाजिर हुने बताइएको थियो। उक्त कामका लागि मासिक १ हजार ४५० तलब, दैनिक चार घण्टा ओभरटाइम तथा खानेबस्ने सुविधा उपलब्ध हुने आश्वासनसमेत दिइएको राईको भनाइ छ। ‎ ‎राईका अनुसार कम्पनीले नै भिसा र टिकट पठाइदिने तथा प्रहरी रिपोर्ट र श्रमसम्बन्धी सम्पूर्ण प्रक्रिया मिलाइदिने भन्दै मेडिकल खर्चबाहेक ६५ हजार रुपैयाँमा विदेश जाने सबै प्रक्रिया पूरा हुने बताइएको थियो। तर, पछि विभिन्न बहानामा पटक–पटक रकम माग्दै छिट्टै विदेश उडाइदिने आश्वासन दिइएको उनको आरोप छ। ‎ ‎पीडितले दिएको विवरणअनुसार उनले ३३ हजार रुपैयाँ नगद, १ लाख ९१ हजार रुपैयाँ मोबाइल बैंकिङ र ७० हजार रुपैयाँ ईसेवामार्फत गरी जम्मा २ लाख ९४ हजार रुपैयाँ बुझाएका थिए। उक्त रकम जुटाउन ऋणसमेत लिनुपरेको राईले बताएका छन्। ‎ ‎भदौ महिनाको अन्तिमतिर भएको भनिएको उक्त घटनापछि राउतले कार्तिक ५ गते दिउँसो १२ बजे आफू विदेश पुगिसकेको भन्दै म्यासेज पठाएको राईको भनाइ छ। त्यसपछि भने उनी सम्पर्कविहीन भएको पीडितले बताएका छन्। ‎ ‎विदेश जाने आशामा ऋण काढेर रकम बुझाएका राई अहिले आफ्नो रकम र पासपोर्टसमेत फिर्ता नपाउँदा समस्यामा परेको बताउँछन्। उनले सम्बन्धित निकायसँग घटनाको निष्पक्ष छानबिन गरी आफ्नो रकम र पासपोर्ट फिर्ता गराइदिन माग गरेका छन्।

Last updated:2026 Nov 04 Wednesday 06:29:42

प्रतिक्रिया
सम्बन्धित समाचार