उपहार न्यूज
उदयपुर कात्तिक १७
गाईघाट फुटबल क्लबको आयोजनामा गाईघाटमा जारी अन्तराष्ट्रिय आमन्त्रण त्रियुगा गोल्डकपको सेमिफाईनल खेलको लागि समिकरण पुरा भएको छ । मंगलबार सम्पन्न नकआउट चरणको अन्तिम खेलमा नेपालको ए डिभिजन क्लब नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै जर्जियन फुटबल क्लब भारत सेमिफाईनलमा प्रवेश गरेको छ । मंगलबार सम्पन्न खेलमा जर्जियनका लागि जर्सी नम्बर ९ का सन्जय धिमालले दुई गोल गर्न सफल भएका थिए । खेलको निर्धारित समयमा २–० गोल अन्तरले अग्रता हासिल गरेको जर्जिन फुटबल क्लबलाई थप गरिएको समयमा अन्तिम मिनेटमा नेपाल पुलिस क्लबलका लागि राम बजीले सान्तवना गोल गर्न सफल भएका थिए । प्रतियोगीताको मंगलबारको खेलमा म्यान अफ द म्याच जर्जियन फुटबल क्लब भारतका जर्सी नम्बर ९ का सन्जय धिमाल भएका छन् । उनलाई त्रियुगा नगरपालिका प्रमुख बसन्तकुमार बस्नेत र उपप्रमुख महेश्वरी राईले नगद ७ हजार ५ सय सहित पुरस्कृत गरेका थिए ।
प्रतियोगीता अन्तर्गत बुधबार पहिलो सेमिफाईन खेल हुनेछ, पहिलो सेमिफाईनल खेलमा ए डिभिजन क्लब सातदोबाटो ललितपुर र सहलेस युथ क्लब सिराह विच हुने आयोजक समितिका अध्यक्ष रन्जन कार्कीले जानकारी दिनु भयो । यता बिहिबार दोस्रो सेमिफाइनल खेलमा भारतीय क्लब जर्जियन फुटबल क्लब र न्यू स्टार क्लब सुनसरी विच हुने आयोजकले जनाएको छ ।