उपहार न्यूज
उदयपुरगढी असार ११
उदयपुरगढी, उदयपुर । उदयपुरगढी गाउँपालिकाको २१औँ गाउँसभाले आर्थिक वर्ष २०८३र८४ का लागि कुल ६४ करोड ७७ लाख १९ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाले प्रस्तुत गरेको बजेटमध्ये चालुतर्फ ४४ करोड ८७ लाख १९ हजार रुपैयाँ तथा पुँजीगततर्फ १९ करोड ८९ लाख ५६ हजार रुपैयाँ विनियोजन गरिएको छ।
गाउँसभामा प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेको छ। विशेषगरी स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै गाउँपालिकाले “म स्वस्थ, मेरो पालिका स्वस्थ” भन्ने नारासहित विभिन्न स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने नीति अघि सारेको गाउँपालिका उपाध्यक्ष जितबहादुर खड्काले जानकारी दिनु भयो । कृषि क्षेत्रको उत्पादन र किसानको आय वृद्धि गर्ने उद्देश्यले गाउँपालिकाले दूध उत्पादन गरी बिक्री गर्ने किसानलाई दूधमा अनुदान प्रदान गर्ने कार्यक्रम समेत समावेश गरेको छ। यस कार्यक्रमले स्थानीय दुग्ध उत्पादनलाई प्रोत्साहन गर्नुका साथै कृषकको आर्थिक अवस्था सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटमार्फत आधारभूत सेवा सुदृढीकरण, कृषि उत्पादन वृद्धि, स्वास्थ्य सेवाको पहुँच विस्तार तथा पूर्वाधार विकासलाई प्रभावकारी रूपमा अघि बढाउने जनाएको छ।