गाईघाट, असार ६ – उदयपुरको त्रियुगा नगरपालिका–१ जोगिदहस्थित मुस्लिम समुदायका लागि एकदिने तरकारी खेती सम्बन्धी सीपमूलक तालिम तथा आयआर्जन कार्यक्रम सम्पन्न भएको छ।
त्रियुगा नगरपालिकाको सहयोग तथा मदिना मन्जरी नजबुल फाउन्डेसन नेपालको आयोजनामा सम्पन्न कार्यक्रमको उद्घाटन वडा नं. १ का अध्यक्ष मनोजकुमार चौधरीले गरेका थिए। कार्यक्रममा तरकारी खेतीमार्फत आत्मनिर्भरता र आयआर्जन वृद्धि गर्ने उद्देश्यले सहभागीहरूलाई व्यावहारिक तथा प्राविधिक ज्ञान प्रदान गरिएको थियो।
तालिममा कृषि प्राविधिक प्रवेश यादव र मिनबहादुर थापाले सहजीकरण गर्दै मौसमी तथा व्यावसायिक तरकारी खेती, बिउ छनोट, उत्पादन व्यवस्थापन तथा रोग–कीरा नियन्त्रणका विषयमा जानकारी गराएका थिए।
कार्यक्रमको अध्यक्षता नजबुल खान (निलम) ले गरेका थिए भने सञ्चालन रजिया सुल्तानले गरेकी थिइन्। स्वागत मन्तव्य सानु चौधरीले व्यक्त गरेका थिए।
कार्यक्रमको अवसरमा सहभागीहरूलाई १० प्रकारका तरकारीका बिउ वितरण गरिएको थियो। वितरण गरिएका बिउमा रायो साग, मुला, फर्सी, बोडी, धनियाँ, घिरौँला, भान्टा, भिन्डी, लौका तथा हजारी फूलका बिउ रहेका थिए।
मुस्लिम लक्षित उक्त कार्यक्रममा मस्जिद तथा मदरसा व्यवस्थापन समितिका अध्यक्षहरू, स्थानीय अगुवा तथा समुदायका सदस्य गरी ३५ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।
आयोजक संस्थाले यस्ता सीपमूलक तथा आयआर्जनमूलक कार्यक्रमले समुदायको आर्थिक अवस्था सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। सहभागीहरूले पनि तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर व्यावसायिक तरकारी खेतीतर्फ अग्रसर हुने प्रतिबद्धता व्यक्त गरेका थिए।