उपहार न्यूज
उदयपुर असार ६
उदयपुरको कटारी नगरपालिकामा १७ किलोभन्दा बढी गाँजासहित एक जना पक्राउ परेका छन्। लागूऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले १७.०४० किलोग्राम गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शनिबार राति करिब १ः२० बजे कटारी नगरपालिका–६ स्थित बैनाज पुल भित्री सडक खण्डमा प्रहरी चौकी रिस्कुबाट खटिएको प्रहरी टोलीले उदयपुरगढीतर्फबाट कटारीतर्फ आउँदै गरेको मोटरसाइकललाई जाँचका लागि रोक्न खोजेको थियो। तर प्रहरीले रोकेको संकेत बेवास्ता गर्दै मोटरसाइकल तीव्र गतिमा अघि बढेपछि प्रहरी टोलीले पछ्याएको थियो।
भाग्ने क्रममा मोटरसाइकलको पछाडि सवार उदयपुरगढी गाउँपालिका–६ बाउनटार घर भई हाल कटारी नगरपालिका–४ सिम्ले बस्दै आएका ३० वर्षीय नरबहादुर पुलामी मगर मोटरसाइकलबाट लडेका थिए। त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिई खानतलासी गर्दा उनको साथबाट १७.०४० किलोग्राम लागूऔषध गाँजा बरामद गरेको जनाएको छ।
घटनापछि मोटरसाइकल चालक भने फरार हुन सफल भएका छन्। फरार चालक तथा मोटरसाइकलको पहिचान र खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका नरबहादुर पुलामी मगरलाई इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखिएको छ। उनीमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तस्बीर ः एआईद्धारा काल्पनिक सिर्जना गरिएको हो