काठमाडौं, जेठ १४ । आदिवासी जनजातिको भाषा, संस्कृति, इतिहास र पहिचानलाई चलचित्रमार्फत उजागर गर्ने उद्देश्यले “छैटाै नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३” आयोजना हुने भएको छ । महोत्सव आगामी जेठ २७, २८ र २९ गते काठमाडौंस्थित चलचित्र विकास बोर्डमा सञ्चालन हुने आयोजकले जनाएको छ ।
आयोजक संस्था आदिवासी जनजाती चलचित्र महासघले जनाएको छ । शुक्रबार काठमाडौं स्थित अनामनगरमा पत्रकार सम्मेलन गर्दै महासघले नेपालजस्तो बहुभाषिक, बहुसांस्कृतिक तथा बहुजातीय मुलुकमा आदिवासी जनजाति समुदायको इतिहास, भाषा, मिथक, लोकज्ञान, सांस्कृतिक अस्तित्व र सामुदायिक स्मृतिलाई चलचित्रमार्फत पुनर्स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको जनाएको हो ।
आधुनिक विकासको नाममा आदिवासी समुदायको ज्ञान, संस्कृति र पहिचान संकटमा परिरहेका बेला चलचित्रलाई समुदायको अनुभव, संघर्ष र सांस्कृतिक चेतनाको जीवित अभिलेखका रूपमा स्थापित गर्ने प्रयास गरिएको उल्लेख गरिएको महोत्सव निर्देशक सागर केरुङले जानकारी दिनु भयो । महोत्सवले आदिवासी चलचित्रलाई केवल मनोरञ्जनको माध्यम नभई समुदायको भाषा, संस्कृति, स्मृति र आत्मप्रतिनिधित्वको दस्तावेजका रूपमा अघि बढाउने विश्वास लिइएको छ ।
नेपालमा आदिवासी चलचित्र निर्माणको इतिहास चार दशकभन्दा लामो रहेको जनाउँदै आयोजकले प्रारम्भिक चरणमा आदिवासी पहिचानलाई दृश्यरूप दिने प्रयास भए पनि पछिल्लो समय मातृभाषा, भूगोल, सांस्कृतिक संरचना, लोकज्ञान तथा सामुदायिक आवाजलाई केन्द्रमा राखेर छुट्टै आदिवासी सिनेम्याटिक सौन्दर्यको विकास भइरहेको जनाएको छ ।
महोत्सवमा लिम्बू, नेवार, गुरुङ, तामाङ, मगर, मुगेल, माझी तथा राजवंशी समुदायका कथानक चलचित्र, लघु चलचित्र, वृत्तचित्र र एआई जनरेटेड वृत्तचित्र प्रदर्शन गरिने भएको छ । निर्देशक ऋत, स्वप्नसुन्दर, जनक गुरुङ, निमा लामा तामाङ, अशोक आले मगरलगायतका चलचित्र प्रदर्शन गरिने जनाइएको छ ।
त्यस्तै लघु चलचित्रतर्फ सागर केरुङ निर्देशित “नडहरहरू”, हुत्तबहादुर तामाङ निर्देशित “दुखा याम”, विपना तामाङ मुगेल निर्देशित “निको पहिचान” तथा विशाल रोक्का मगर निर्देशित “लाहुरे” समावेश गरिएको छ । वृत्तचित्रतर्फ ओमिन मगर निर्देशित “आयो” र दीपा कुमारी माझी निर्देशित “लबि पुना” प्रदर्शन गरिने भएको छ । साथै एआई जनरेटेड वृत्तचित्र “सिन्धारामके प्राचिन राजवंशी” समेत महोत्सवमा समावेश गरिएको आयोजकले जनाएको छ ।
महोत्सवमा उत्कृष्ट लघु चलचित्र, उत्कृष्ट वृत्तचित्र, उत्कृष्ट कथानक चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट स्क्रिप्ट, उत्कृष्ट अभिनेता–अभिनेत्री तथा उत्कृष्ट छायांकनलगायत विधामा पुरस्कार प्रदान गरिने आदिबासी जनजाती चलचित्र महासघका कार्यबाहक अध्यक्ष भुइसल लामाले जानकारी दिनु भयो ।
आयोजकले महोत्सवलाई नेपाललाई विश्व आदिवासी चलचित्र आन्दोलनको एक उदाउँदो केन्द्रका रूपमा स्थापित गर्ने सांस्कृतिक अभियानका रूपमा लिएको जनाएको छ । साथै महोत्सव सफल बनाउन सञ्चारकर्मी, सरोकारवाला निकाय तथा आम समुदायलाई सहयोग र सहभागिताका लागि आग्रह गरिएको छ । कार्यक्रममा आदिबासी जनजाती महासघका उपाध्यक्ष अमृत बहादुर सुनुवार, चलचित्र कलाकार सघका अध्यक्ष उतम केसि, चलचित्र पत्रकार सघका अध्यक्ष समीर बलामी, आदिबासी जनजाति पत्रकार महासघ (फोनिज) का उपाध्यक्ष बिश्वराज तामाङले चलचित्र महोत्सबको सफलताको शुभकामना व्यक्त गरेका थिए ।