बिज्ञान पराजुली / रोमानिया
युरोपेली मुलुक ग्रिसको एथेन्समा ओखलढुङ्गाका राजकुमार राईको मृत्यु भएको छ।
ओखलढुङ्गाको मोलुङ्ग-८ घर भई ललितपुरको गोदावरी नगरपालिका-१४, ठैवमा अस्थायी बसोबास गर्दै आएका ३७ वर्षीय राईको मे १६ मा ग्रिसको एथेन्स विमानस्थलमा मृत्यु भएको हो।
एथेन्स अन्तर्राष्ट्रिय विमानस्थलको १ नम्बर प्रस्थान गेट नजिकै रहेको शौचालय क्षेत्रमा एक सफाइ कर्मचारीले राईलाई बेहोस अवस्थामा भेटेर प्रहरीलाई खबर गरेका थिए। आपतकालीन चिकित्सा सेवाको मोबाइल युनिट घटनास्थलमा आएर चेक जाँचपछि डाक्टरले उनलाई मृत घोषित गरेको बताइएको छ।
राईको एथेन्स विमानस्थलको ट्रान्जिटमा मृत्यु भएको ग्रिससमेत कार्यक्षेत्र रहेको भियनास्थित नेपाली राजदूतावास अस्ट्रियाका प्रथम सचिव अनिल लम्सालले पुष्टि गरेका छ्न।
राजकुमार राईको नेपाल जाने क्रममा एथेन्स एयरपोर्टको शौचालयमा मृत्यु भएको जानकारी प्राप्त भएको जनाइएको छ।ग्रिसको स्थानीय प्रहरीलाई उद्धृत मृतकको शव पोष्टमार्टमका लागि सम्बन्धित परिवारको सहमति पठाइदिन अनुरोध गर्दै दूतावासबाट कन्सुलर सेवा विभागमा पत्राचार गरिएको ,सचीव लम्सालले जानकारी दिनुभयो।
यता, नेपालमै रहेकी राजकुमारकी श्रीमती भावना नेपाल राई घटनाबाट भावविह्वल छिन्।
पत्रकार महासघ युरोपका महासचिव सेर बहादुर परियार सङ्गको टेलिफोन कुराकानीमा भावनाले भक्कानिँदै ‘एअरपोर्ट पुगुन्जेल १०/१२ पल्ट मेरो उहाँसँग सम्पर्क भएको थियो बताएकी छ्न।अब फोन लाग्दैन, ग्रिसमा ट्रान्जिटमा वाइफाइ जोडेर तिमीलाई फोन गर्छु भन्नुभएको थियो, अहिलेसम्म आउनु भएको छैन। अहिले यस्तो कल्पनासमेत नगरेको दुःखद खबर आएको छ।’
राजकुमारको मे १६ तारिख चेक रिपब्लिकबाट एथेन्स हुँदै १७ तारिख नेपाल आइपुग्ने हवाई टिकट थियो।
१४ डिसेम्बर २०२४ मा रोजगारीको सिलसिलामा नेपालबाट रोमानिया आएका हुन् राजकुमार। रोमानिया पठाउने मेनपावरले भने अनुसारको नभएपश्चात् उनी ९ महिनापछि चेक रिपब्लिक आएका थिए। चेक रिपब्लिकमा अवैधानिक रूपमा काम गर्दै आएका उनलाई ८ महिनामा स्थानीय प्रशासनले समातेपछि नेपाल जान पत्र थमाएको थियो। उनको श्रीमती तथा १२ र ४ वर्षका दुई छोरी छन्।