उपहार न्यूज
उदयपुर जेठ १
त्रियुगा नगरपालिकाले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित गठन गरेको त्रियुगा प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा परिषद् सदस्यहरुले सपथ ग्रहण गरेका छन् । नगर कार्यपालिकाको ५९ औं बैठकले २०८२ चैत १२ गते गरेको निर्णय अनुसार त्रियुगा प्रज्ञा प्रतिष्ठान ऐन २०८१ को दफा ५ बमोजिम मनोनित पदाधिकारी तथा परिषद् सदस्यहरुलाई शुक्रबार आयोजित कार्यक्रममा सपथ गराइएको हो ।
त्रियुगा नगरपालिकामा आयोजित कार्यक्रममा प्रतिष्ठानका मनोनित अध्यक्ष राममणी पोखरेललाई नगर प्रमुख बसन्तकुमार बस्नेतले सपथ ग्रहण गराउनुभयो भने अन्य पदाधिकारी तथा परिषद् सदस्यहरुलाई अध्यक्ष पोखरेलले सपथ गराउनुभएको थियो ।
प्रतिष्ठानको उपाध्यक्षमा महेन्द्र राई, सदस्य सचिवमा कौशल चेम्जोङ तथा सदस्यहरुमा सिमा मास्के, सन्जा दनुवार, शैलेन्द्र खतिवडा, बासु पोखरेल, गोपालकृष्ण तिम्सिना र टंकबहादुर आलेमगर रहेका छन् । त्यसैगरी परिषद् सदस्यहरुमा वीरेन्द्रकुमार बस्नेत, सम्झना असफल राई, चन्द्रनारायण चौधरी, किर्तिबहादुर खड्का, कुवेरकान्त काफ्ले, हिरामान मोते, विरेशबाबु शाही, ऋषिकेश पोखरेल, हरि केसी, चन्द्र तामाङ, हर्कनारायण श्रेष्ठ, अनन्त दनुवार र मिथुन ठाकुर रहेका छन् । कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्तकुमार बस्नेतले त्रियुगा प्रज्ञा प्रतिष्ठानले स्थानीय भाषा, साहित्य, इतिहास, कला तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले उदयपुरको पहिचान, मौलिकता र ऐतिहासिक विरासतलाई नयाँ पुस्तासम्म पु¥याउन प्रतिष्ठानले प्रभावकारी काम गर्नुपर्नेमा जोड दिनुभयो ।
यसैबीच पत्रकार तथा लेखक कौशल चेम्जोङद्वारा लिखित ‘नेपालको इतिहासमा उदयपुर’ नामक पुस्तकको समेत लोकार्पण गरिएको छ । त्रियुगा नगरपालिकाको कार्यालय गाईघाटमा आयोजित सपथग्रहण कार्यक्रमकै अवसरमा नगर प्रमुख बसन्तकुमार बस्नेत र उपप्रमुख महेश्वरी राईले संयुक्त रुपमा पुस्तक लोकार्पण गर्नुभएको हो ।
३६८ पृष्ठमा प्रकाशित उक्त पुस्तक सात अध्यायमा विभाजित रहेको छ । पुस्तकमा वि.सं. १९०० देखि २००७ सम्मको करिब १०७ वर्षको उदयपुरको ऐतिहासिक कालखण्ड समेटिएको छ । प्रकाशक उदयपुर अनुसन्धान केन्द्रका अनुसार लामो अध्ययन, अभिलेख संकलन तथा क्षेत्रीय अनुसन्धानपछि तयार गरिएको यस कृतिले उदयपुरको ऐतिहासिक, राजनीतिक, सामाजिक, प्रशासनिक, आर्थिक तथा सांस्कृतिक पक्षलाई तथ्यपरक ढंगले प्रस्तुत गरेको छ ।
कार्यक्रममा सहभागीहरुले उदयपुरको इतिहासलाई दस्तावेजीकरण गर्दै भावी पुस्ताका लागि महत्वपूर्ण सामग्री तयार गरिएको भन्दै पुस्तकको प्रशंसा गरेका थिए । साथै त्रियुगा प्रज्ञा प्रतिष्ठान गठनसँगै स्थानीय कला, साहित्य, इतिहास र संस्कृतिको संरक्षण तथा अनुसन्धानलाई थप संस्थागत आधार मिल्ने अपेक्षा गरिएको छ । कार्यक्रममा त्रियुगा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कुमार प्रसाद कोइरालाले स्थानिय सरकारले गर्ने विकास केवल भौतिक विकास मा मात्र सिमित नभएर बौद्धिक गर्नु पर्ने समेत औल्याउनु भयो । कार्यक्रमा पत्रकार महासंघ उदयपुरका अध्यक्ष भक्तिविलास पोखरेल लगायतका पत्रकार, साहित्यकार, कलाकार लगायतको उपस्तिथी रहेको थियो ।
