उपहार न्यूज
उदयपुर कात्तिक २५
स्थानिय तहको रिक्त रहेको स्थानमा हुने उपनिर्वाचन अन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका १२ र वेलका नगरपालिका ९ मा आगामी मंसीर १६ मा हुने उपनिर्वाचनको सरगर्मी बढ्दै गएको छ । त्रियुगा नगरपालिका वडा नम्बर १२ मा कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष चडाराज काफ्ले र वेलका नगरपालिका ९ मा कांग्रेसबाटै निर्वाचित पदम खड्का सवारी दुर्घटना परी निधन भए पछि सो ठाउँ रिक्त रहेको थियो ।
निर्वाचन आयोगले देशभर रिक्त रहेको स्थानमा आगामी मंसीर १६ का लागि निर्वाचन तय गरे सगै दलहरु उम्मेदवार तय गर्न लागेका छन् । माओवादी केन्द्रले दुवै स्थानका लागि उम्मेदवार तय गर्दा कांग्रेस, एमाले, एकिकृत समाजवादीले भने सोमबार सम्ममा उम्मेदवार टुंगो लगाउने बुझिएको छ ।
माओवादी केन्द्रबाट त्रियुगा नगरपालिका १२ मा अघिल्लो निर्वाचनमा झिनो मतले पराजित भएका नविन राईलाई उम्मेदवार बनाएर माथिल्लो कमिटिलाई सिफारिस गरेको छ । २०७९ बैशाखमा सम्पन्न निर्वाचनमा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीको गठनबन्धनबाट उम्मेदवार बनेका राईलाई यस पटक माओवादीले उम्मेदवार बनाएको हो ।
यता माओवादीले वेलका नगरपालिका ९ मा विद्यार्थी राजनितिबाट उदायका भरत घिमिरेलाई उम्मेदवार बनाउने टुंगो लगाएको माओवादी केन्द्र वेलका नगरपालिका अध्यक्ष मनोज तामाङले बताउनु भयो ।
यता नेपाली कांग्रेसबाट बेलका नगरपालिकामा नवराज बस्नेत (नविन) लाई वडा अध्यक्ष पदको उम्मेदवार बनाएको छ, बस्नेत स्थानिय माझ लोकप्रिय रहेको बुझिएको छ । यता त्रियुगा नगरपालिका १२ मा भने हालका कार्यवाहक अध्यक्ष अनिता थापा र मृतक वडाअध्यक्षको परिवार सदस्य संजिव काफ्ले मध्य एकलाई उम्मेदवार बनाउने तयारी रहेको छ । पार्टीको जिल्ला तहको बैठकबाट त्रियुगा नगरपालिका १२ को उम्मेदवारको अन्तिम टुंगो लगाउने तयारी रहेको नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापती खगेन्द्र राईले बताउनु भयो ।
यता नेकपा एमालेबाट पनि सोमबार सम्ममा उम्मेदवारको अन्तिम टुंगो लगाउने तयारी रहेको पार्टी अध्यक्ष भागवत राउतले बताउनु भयो । एमालेबाट वेलका नगरपालिका ९ मा मोहन खड्का र त्रियुगा नगरपालिका १२ मा लक्ष्मीनारायण चौधरीलाई वडा, नगर हुदै जिल्लामा सिफारिस प्राप्त भएको र जिल्लाको पदाधिकारी बैठकले उम्मेदवारको नाम अनुमोदन गर्दै प्रदेश समितिलाई पठाउने तयारी रहेको अध्यक्ष राउतले बताउनु भयो ।
यता राष्ट्रिय स्वतन्त्र पार्टीबाट त्रियुगा नगरपालिका १२ मा ध्रुब पोख्रेलको नाम चर्चामा आएको छ, मोवाईल व्यवसायी पोख्रेल उदयपुर जेसिजका पूर्व अध्यक्ष समेत हुन् । रास्वपाले वेलका ९ र त्रियुगा १२ दुवै स्थानमा उम्मेदवारी दिने तयारी रहेको सो पार्टीका जिल्ला संयोजक चित्र बहादुर कार्कीले बताउनु भयो, कात्तिक २७ गते उम्मेदवारको अन्तिम टुंगो लगाउने तयारी रहेको कार्कीले बताए । एकिकृत समाजवादी पार्टीले सोमबार सम्ममा दुवै स्थनको उम्मेदवारको टुंगो लगाई सक्ने पार्टीका प्रदेश अध्यक्ष तथा केन्द्रिय सचिव वलदेव चौधरीले बताउनु भयो । त्रियुगा नगरपालिकाको पूर्व मेयर समेत रहेका चौधरीको त्रियुगा नगरपालिका १२ गृह वडा समेत हो । त्रिनपा १२ लाई एकिकृत समाजवादीले पार्टीका प्रदेश अध्यक्ष तथा केन्द्रिय सचिव वलदेव चौधरीको वडा भएकाले प्रतिष्ठाको रुपमा समेत लिएको छ ।
निर्वाचन आयोगले त्रियुगा १२ र वेलका ९ मा हुने निर्वाचनको अन्तिम मतदाता नामवली र संख्या सार्वजनिक गर्न बाकी छ तथाफी पछिल्लो तथ्यांक अनुसार त्रियुगा १२ मा ३ हजार ७ सय ४२ र वेलका ९ मा ३ हजार ९३ मतदाता रहेका छन् ।
२०७९ मा कस्ले कति मत पाए
त्रियुगा नगरपालिका १२ मा २०७९ बैशाखमा सम्पन्न निर्वाचनमा वडा अध्यक्ष पदको लागि ६ जना प्रतिस्पर्धामा रहेका थिए । नेपाली कांग्रेसबाट उम्मेदवार भएका चुडाराज काफ्लेले ४३९ मत प्राप्त गरी विजयी भएका थिए । उनका प्रतिद्धन्दिहरु रमेश राउतले ४०८ नविनकुमार वान्तावा राईले ४०४ जनता समाजवादी पार्टी नेपालका उम्मेदवार लक्ष्मीनारायण चौधरीले २४१ राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार होमनाथ पोख्रेलले १० जनता प्रगतिशिल पार्टीका उम्मेदवार प्रमोद मलाहा सहनीले ४ मत प्राप्त गरेका थिए ।
यता वेलका नगरपालिका ९ मा ७ जना उम्मेदवार मध्य नेपाली कांग्रेसका उम्मेदवार पदम बहादुर खड्का ६७१ मत सहित विजयी भएका थिए । नेकपा एमालेका उम्मेदवार रणजित राईले ५४८ जनता समाजवादी पार्टी नेपालका उम्मेदवार राजकुमार राईले २३१ माओवादी केन्द्रका उम्मेदवार हरि बहादुर श्रेष्ठ जोशीले १७६ राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रामकुमार खड्काले २७ स्वतन्त्र उम्मेदवार मनकुमारी राई (घिमिरे) ले १०७ र तेजमान विश्वकर्माले ९८ मत प्राप्त गरेका थिए ।