किरण प्रसाद ढुंगाना
उदयपुर श्रावण २२
एक बर्ष सम्म सहकारीमा रकम जम्मा गरि सुन लगाउने धोको त्रियुगा नगरपालिका वडा नम्बर ५ भलुवाई डेरा गरि बस्ने ललिमाया मगरको पूरा हुन सकेन। चटपटे, पानीपुरी बेचेर दैनिक १०० रुपैया १ बर्षको लागि हिमालय बचत तथा ऋण सहकारीमा जम्मा गर्न थालेकी ललिमायाको बचत १ बर्ष नपुग्दै सहकारीनै बन्द भए पछि उनले बचत फिर्ता पाईनन। छिमेकीले बचत गरेको देखेर २०७९ कार्तिक २१ गतेबाट बचत गर्न सुरु गरेकी ललिमायाको १८ हजार ६ सय रुपैया खातामै सिमित भएको छ। सामाजिक सुरक्षा भत्ता र १ बर्ष सम्मको बचत जम्मा पारेर सुन लगाउने उनको ठूलो ईच्छा थियो। बुढेसकालमा पनि आफ्नै परिश्रम गरेर खान रुचाउने ललिमाया कान्छा छोरा र नातिनी सहित डेरामा बस्दै आएकी छिन। “चटपटे र पानी पुरी आमाले राम्रो बनाउनु हुन्छ भनेर बगाहा, भलुवाई, बगरटोलबाट नानी बाबुहरु आउनु हुन्छ। दैनिक ५/६ सयको बिक्रि हुन्छ। त्यसमा दिनमा १५० जति फाईदा हुन्छ होला। दुख गरेको रकम सहकारीले खाईदियो ” ललिमाया बताउछिन। मैले सहकारी अफिस पनि देखेको छैन। सधै बन्द हुन्छ रे। सबैको पैसा खाएर भागो रे । मैले दु:ख गरेर कमाएको पैसा खाईदिनेको कहिले भलो नहोस ” ललिमाया दुखेसो पोख्छिन। त्रीयुगा नगरपालिका ११ असारी रोडमा कार्यालय रहेको हिमालय बचत तथा ऋण सहकारी सस्थामा रकम जम्मा गर्ने ललिमाया मात्र होईन ३ सय भन्दा बढी बचतकर्ताको बचत रकम सहकारीले फिर्ता गर्न सकेको छैन। कार्यलय अहिले बन्द छ। बचतकर्ताको बचत दुरुपयोग गरि ऋण लगानी गर्नुको सट्टा जग्गा र अन्य क्षेत्रमा खर्छ गरि अपचलन गरेको अर्का बचतकर्ता संतोष राई बताउछन। त्रीयुगा नगरपालिका ५ देउरी बुद्ध चोकमा खाजा घर चलाउदै आएका राईले श्रीमती र छोरिको नाममा गरि २ लाख २९ हजार जम्मा गरेका थिए।