उदयपुर, असार ३ ।
स्थापना दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरले पत्रकार भेटघाट आयोजना गरेको छ । पार्टीले आफ्नो दोस्रो स्थापना दिवसको अवसरमा बिगतदेखि वर्तमान र आगामी रणनीति नागरिकसामू प्रवाह गर्न जिल्लास्थित पत्रकारहरुसँग भेटघाट भएको हो ।
गाईघाटको संगमटोलस्थित पार्टीको जिल्ला कार्यालय सभाहलमा आयोजित कार्यक्रममा स्थापनाकालदेखि हालसम्म उदयपुरका भएका प्रगति बिवरण संयोजक चित्रकुमार कार्कीले सार्वजनिक गरेका थिए । कार्कीद्धारा प्रस्तुत पत्रमा जिल्लामा हालसम्म ७ हजार बढीले पार्टी सदस्यता लिएका छन् । त्यस्तै पछिल्लो समय एप्समार्फत प्राप्त १ हजार ५ सय आबेदन ‘भेरिफाई’ गर्न बाँकी रहेको छ ।
त्यस्तै जिल्लाका ४ गाउँपालिका र ४ नगरपालिकामध्ये लिम्चुङबुङ गाउँपालिकामा वडा तथा पालिकास्तरीय समिति गठन गर्न बाँकी छ । त्यसबाहेक अन्य ७ स्थानीय तहमा भने यसअघि नै पालिका र वडास्तरीय समितिहरु गठन भइसकेका छन् ।
क्रममा सहभागी पत्रकारहरुले संगठनले हालसम्म गरेका ठोस प्रगति र आगामी रणनीति तथा वर्तमान राजनीतिक अवस्थाबारे चासो राखेका थिए । जसमा रास्वपा कोशी प्रदेश सदस्य तथा उदयपुरका संयोजक चित्रकुमार कार्की, कोशी प्रदेश सदस्य प्रकाश अधिकारी, अर्का प्रदेश सदस्य लक्ष्मण अधिकारी र त्रियुगा नगरसभापति उत्तम रिजाललगायतले जवाफ दिएका थिए ।
रास्वपाले स्थापना दिवसको अवसरमा देशैभरीको पार्टी संयन्त्रमार्फत बिभिन्न कार्यक्रम आयोजना गर्दैछ । उदयपुरमा पनि सोही अनुसार असार ३ गते पत्रकार सम्मेलनको तालिकासँगै असार ५ गते बृहत सरसफाई, ६ गते बृक्षरोपण र असार ७ गते चियापान समारोह रहेको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का, नेपाल फोटो पत्रकार महासंघका अध्यक्ष देवराज राई, प्रेस चौतारी नेपाल उदयपुरका अध्यक्ष पुरुषोतम सापकोटा, प्रेस सेन्टर उदयपुरका अध्यक्ष सुपराज राई र आदिवासी जनजाति महासंघ पत्रकार महासंघ उदयपुरका अध्यक्ष इश्वर बलम्पाकीलगायतको उपस्थिती रहेको थियो ।