विजय राई-
उदयपुर, माघ २ । उदयपुरमा सवारी दुर्घटना हुँदा दुई युवक गम्भीर घाइते भएका छन् । जिल्लाको बेलका नगरपालिकास्थित मदन भण्डारी राजमार्गअन्तर्गत सिसुवा खोलामा मोटरसाइकल दुर्घटनामा परी २९ वर्षीय कुलबहादुर कटुवाल र यादवराज पाण्डे घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीका अनुसार सडकमा गुडीरहेको मोटरसाईकल स्वत अनियन्त्रीत भई पिल्लरमा ठोकिएको थियो । मंगलवार पुर्वदेखि पश्चिमतर्फ जाँदै गरेको बा ६२ प १८२० नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो ।
दुर्घटनामा परी घाइते हुने कटुवाल बेलका ननगरपालिका वडा नम्बर ५ का स्थानीयबासी हुन्् । उनको दुवै खुट्टा र टाउकोमा चोट लागेको छ । घाइते सामान्य बोल्न सक्ने भएपनि अवस्था भने असामान्य रहेको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् ।
त्यस्तै सोही मोटरसाईकलमा सवार २९ वर्षीय यादवराज पाण्डेको दाईने खुट्टा र दाईने हातमा चोट लागेको छ । कटुवाल र पाण्डेलाई बेलका नगर अस्पतालमा प्राथमिक उपचारपछि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपाक्याम्प पठाइएको डीएसपी चौधरीले जानकारी दिएका छन् । दुर्घटनाग्रस्त मोटरसाईकल भने लालबजारस्थित प्रहरी चौकीमा राखिएको छ ।