उपहार न्यूज
उदयपुर असोज २२
चाडपर्व नजिकिदै जाँदा त्रियुगा नगरपालिका उदयपुरले बजारलाई व्यवस्थित गर्नका लागि सोमबार सरोकारवालाहरु संग बैठकले गरेको छ । बैठकले दैनिक उपभोग्य वस्तु तथा सेवाहरु प्रचलित बजार मुल्यका आधारमा व्यवसायीहरुले मुल्य सूची पारदर्शी बनाएर राख्नको लागि त्रियुगा नगरपापिलकाले अनुरोध गर्ने भएको छ । सोमबार त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्तकुमार बस्नेतको अध्यक्षतामा बसेको सर्बपक्षिय बैठकले उपभोक्ताहरुको हितलाई मध्यनजर गर्दै त्रियुगा नगरपालिका क्षेत्रका व्यवसायीहरुले अनिवार्य मूल्य सूची पारदर्शी राख्नको लागि आग्रह गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा अब बजारको दैनिक अनुगमन तथा कालोबजारी नियन्त्रणका साथै बजारको सम्भाव्य अस्तव्यस्ततालाई समेत व्यवस्थापन गर्न जिल्ला प्रशासनको संयोजकत्वमा सरोकारवालाहरुको संयुक्त पहलमा बजार अनुगमन गर्ने तथा व्यवस्थापनको लागि आवश्यक सहजीकरण गर्ने भएको हो ।
यता निर्धारित भाडादर बमोजिम सवारी आवतजावत तथा ट्राफिक व्यवस्थापनलाई सहज गराउनको साथै सडकपेटीलाई खाली राखि सर्वसाधरणको सहज आवतजावत हुने वातवरण व्यवस्थापनको लागि पनि नगरपालिकाले पहल गर्ने भएको छ ।
त्रियुगा नगरपालिकामा आयोजित सरोकारवालाहरुको बैठकले नजिकिदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै शान्ति सुरक्षालाई समेत ध्यानमा राखेर होटल तथा किराना पसल राती ९ बजे सम्म खुल्ला राख्नको लागि जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
यसै गरी त्रियुगा आँखा अस्पताल अगाडि मदन भण्डारी राजमार्ग र गाईघाट दिक्तेल सडकको सिमामा रिफ्लेक्टर सडक कोणहरु राख्नका लागि नगरपालिकाले आवश्यक व्यवस्था गर्ने निर्णय गरेको छ । बैठकमा नगर प्रमुख बसन्त बस्नेत, उपप्रमुख महेश्वरी राई, उद्योग वाणिज्य संघका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, पत्रकार लगायतको उपस्तिथी रहेको थियो ।