उपहार न्यूज
उदयपुर असोज १६
बढ्दो दुर्घटना न्यूनिकरण गर्नका लागि उदयपुरमा ट्राफिक प्रहरीले सवारी आवगमन समय तालिका मंगलबारबाट लागु गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुरको वेलका नगरपालिका कोठु देखि कटारी सम्मको १०६ किलोमिटर सडकलाई आधार मानेर टाइम कार्ड सुरु गरेको हो । पछिल्लो समय मदन भण्डारी राजमार्गमा विशेषगरी लामो दुरीको सवारीको चाँप बढ्दै गएकाले संभावित दुर्घटनालाई न्यूनिकरण गर्नका लागि टाइम कार्ड सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मंगलबार एक कार्यक्रमका विच प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक रमेश थापा, यातायात व्यवस्था कार्यालय गाईघाटका प्रमुख श्याम लिम्बु सहित पत्रकार, स्थानिय सरोकारवाला, यातायात व्यवसायी विचमा अन्तरक्रिया सहित टाइम कार्ड लागु गर्ने जानकारी गराईएको हो ।
मदन भण्डारी राजामार्ग संचालन संगै पछिल्लो समय पूर्वी नेपालबाट उदयपुर मार्ग हुदै सार्वजनिक तथा निजि सवारी साधनहरु संचालन हुदै आएको छ । लामो दुरीमा संचालन हुने सवारीहरु तिब्र गतिका कारण दुर्घटना निम्तन सक्ने भएकाले टाइम कार्ड लागु गरिएको प्रहरी उपरिक्षक रमेश थापाले जानकारी दिनु भयो । उहाँले विभिन्न बाहानामा यात्रुहरुलाई दुख दिने कार्य भएको पाईएमा कारवाहिको भागीदार समेत बनाईने बताउनु भयो ।
उदयपुरमा सुरु गरिएको टाइम कार्ड अनुसार अब उदयपुरको कोठु देखि रामपुर सम्मको ११ किलोमिटर सडक २० मिनेटमा पार गर्नु पर्ने छ । त्यसैगरी रामपुर ठोक्सिला देखि लालबजार सम्मको ५ किलोमिटर ८ मिनेटमा, लालबजार देखि बेल्टार सम्मको १६ किलोमिटर २८ मिनेटमा, बेल्टार देखि गाईघाट सम्मको २२ किलोमिटर ३८ मिनेटमा, गाईघाट देखि संगमचोक सम्मको १७ किलोमिटर ३० मिनेटमा, संगमचोक देखि नेपालटार सम्मको १० किलोमिटर १८ मिनेटमा र नेपालटार देखि कटारी सम्मको २५ किलोमिटर दुरी ४५ मिनेटमाको अवधि पार गर्नु पर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रमुख बरिष्ठ प्रहरी नायव निरिक्षक लोक बहादुर दियालीले बताउनु भयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सवारी दुर्घटना न्यूनिकरण गर्नका लागि यस किसिमको कार्यले मद्दत पु¥याउने बताउनु भयो । उहाँले यातायात व्यवसायीहरुलाई यात्रुहरुलाई सास्ती नपर्ने गरी सहज र सरल ढंगले सवारी संचालन गर्नका लागि समेत जोड दिनु भयो ।
यातायात व्यवस्था कार्यालय उदयपुरका प्रमुख श्याम लिम्बुले उदयपुर जिल्लामा पछिल्लो समय सार्वजनिक यातायातका भाडादर समेत निर्धारण गरिएकाले यात्रुहरु संग सोहि बमोजिम भाडादर लिनका लागि आग्रह गर्नु भयो । उहाँले यातायात क्षेत्रलाई थप व्यवस्थित गर्नका लागि प्रदेश सरकारले समेत विभिन्न कार्यहरु गर्दै आएकाले यातायात व्यवसायीहरुलाई मर्यादित भएर काम गर्न आग्रह गर्नु भयो । पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले यातायात व्यवसायीहरुबाट यात्रुहरुले भाडादरको बिषयमा समय समयमा गुनासो गर्ने गरेकोले सरकारले तोके बमोजिमको भाडादर लिनको लागि आग्रह गर्नु भयो । कार्यक्रममा सहभागी यतायात व्यवसायीहरुले विद्युतिय र इन्धनबाट संचालन हुने सवारी साधन फरक भएकाले अझ सुक्ष्म ढंगले अध्ययान गरेर यस्ता नियमहरुलाई कार्यान्वयनमा ल्याईनु पर्नेमा जोड दिए ।