शौरब मगर–
उदयपुर । संविधान दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) उदयपुरले दीप प्रज्वलन गरेको छ । संविधान जारी भएको स्मरणमा संगठनले सदरमुकाम गाईघाट बजारमा दीप प्रज्वलन गरेको हो ।
दीप प्रज्वलनपछि बोल्दै संगठनका केन्द्रिय सदस्य तथा उदयपुर जिल्ला इन्चार्ज भुवन दाहालले नेपाली जनताको बलिदानले प्राप्त संविधानलाई तीनै तहको सरकारले नागरिकको मौलिक हकलाइ कार्यान्वयन गर्ने पक्षलाई जोड दिनुपर्ने बताए । कार्यक्रममा विद्यार्थी नेता, राजनीतिक दलका स्थानीय नेता, नागरिक समाजका अगुवा स्थानीयको उपस्थित रहेको थियो ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गर्नुभएको थियो । संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ । नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो । संविधान जारी हुँदा संविधानसभाको अध्यक्षका रूपमा स्वर्गीय सुवासचन्द्र नेम्वाङ हुनुहुन्थ्यो ।
सङ्घीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायतका नयाँ व्यवस्था राखिएको यो संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलका पाँच सय ३७ जना सभासदले हस्ताक्षर गर्नुभएको थियो । ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन् ।