उपहार न्युज
उदयपुर, भाद्र १३ । जिल्ला अदालत उदयपुरले एक बालकलाई ६ वर्ष ८ महिना जेल सजायको फैसला सुनाएको छ । बालिका बलात्कारको आरोपमा पुर्पक्षका लागि बाल सुधारगृह बिराटगनरमा रहेको उदयपुरका एक बालकलाई जिल्ला अदालतले हिजो ६ बर्ष ८ महिना कैद सजाय सुनाएको हो । जिल्ला न्यायाधिश दिपक खनालको इजलासले १७ बर्षिया एक बालिकालाई १७ बर्षिय बालकले बलात्कार गरेको कसुर ठहर गर्दै कैदसँगै पीडितलाई १० हजार क्षति पुर्ति भराउने गरी फैसला सुनाएको छ । फैसला सँगै कसुरदार नावालक रहुन्जेल बाल सुधारगृहमा नै बस्ने र सावालक ठहरिए पछि कारागार चलान हुने श्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिनुभएको छ ।
१० बर्ष कैद फैसला सुनाइएका कसुरदार नावालक ठहरिएकाले सावालकलाई हुने सजायको दुई तिहाई सजाय गर्नु पर्ने कानुनी व्यवस्था अनुसार ६ बर्ष ८ महिना सजाय निर्धारण गरिएको उहाँले बताउनु भएको छ । ०७५ कात्तिक २२ गते पीडितलाई ३ दिन बन्धक बनाएर बलात्कार गरेको भन्दै परिवारले कात्तिक २४ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । जाहेरी लगत्तै पक्राउ परेका कसुरदारलाई अदालतले ०७५ मंसिर २० गते पुर्पक्षका लागि बाल सुधारगृहमा राख्ने आदेश दिएको थियो ।