उपहार न्यूज
उदयपुर असार २७
पार्सल स्क्यान (अनलाईनको माध्यमबाट बाट गरिने) ठगीका गिरोहमा संलग्न ७ जनालाई उदयपुरमा प्रहरीले सार्वजनिक गरेको छ ।
पछिल्लो समय अनलाईन प्रविधिको उपयोगबाट एक अर्बभन्दा बढी रुपैयाँ ठगी गर्ने गिरोहका सात जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले बुधबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो ।
विभिन्न बाहानामा चिट्ठा परेको, उपहार प्राप्त भएको लगायतको प्रलोभवन देखाउदै अनलाईनबाट ठगीमा संलग्न भारत उत्तराखण्ड राज्यको राज्य पौडी गढवाल, एमकेश्वर ब्लक घर भएका ३६ वर्षीय आई.टी.इञ्जिनियर प्रवीण भट्ट सहित ७ जनालाई प्रहरीले पक्राउ गरि अनुसन्धान अघि बढाएको हो ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ६ घर भएका हेमराज साह, सप्तरी विष्णुपुर गाउँपालिका २, सिम्राहाका निरजकुमार साह, राजविराज नगरपालिका १, डुम्रीका २५ वर्षीय डम्बर साह, गुल्मीको इस्मा गाउँपालिकाका ५ बस्ने ३२ वर्षीय धु्रव थापा, झापाको झापा गाउँपालिका १, बेलौतीबारीका ३१ वर्षीय बरजहान सेख र कलैया उपमहानगरपालिका वडा नम्बर २० बसन्तपुरका २३ वर्षीय रुस्तम मन्सुरी पनि हुन् ।
छोटो अवधिमा उनीहरुले विभिन्न व्यक्तिहरुलाई फेसबुक मेसेन्जर, भाइवर, ह्वाट्सअपलगायत सामाजिक सञ्जाल उपयोग गर्दै एक अर्ब, नौ करोड रुपैयाँ एक लाख बयासी हजार तीन सय तिरानब्बे भन्दा बढी व्यक्तिगत बैंक खातामा ट्रान्जेक्सन गरी ठगी गरेको खुलेको छ ।
व्यक्तिहरुलाई ठग्ने क्रममा उनीहरु बिरुद्ध उनीहरुविरुद्ध उदयपुर, कटारी ४ का ३६ वर्षीय सरिता तामाङले ठगीको उजुरी दिएकी थिइन् ।
तामाङलाई गुडनेस इजरायल नामको फेसबुक म्यासेन्जरबाट सम्पर्क गरी साथी बनाई कुराकानी गर्दै प्रभोलनमा पारेर ठगेका थिए । सुुरुमा साथीलाई ७० हजारको अमेरिकी डलर बराबरको पार्सल पठाइ दिएकाले एयरपोर्टमा उक्त सामान रोकिएको भन्दै फोटो पठाइएको थियो । जतिसक्दो छिटो सामान लिनको लागि विमानस्थलको भन्सारमा कर तिर्नुपर्ने भन्दै एक लाख ३० हजारभन्दा बढी रुपैयाँ ठगेका थिए ।
प्रहरीले अभियुक्तहरुविरुद्ध अनुसन्धान गर्दै जाँदा पार्सल पठाएको र चिठ्ठा परेको भन्ने प्रचार गरेको, जुवा, हुण्डी कारोबारमा संलग्न भएको प्रमाणबाट खुलेको हो । अभियुक्तहरुले विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी सुक्ष्म रुपमा व्यक्तिको आर्थिक हैसियत, सोचाई तथा व्यवहारिक ज्ञानको बुझाइ र भावनात्मक अवस्थाको अध्ययन गरी ठग्दै आएका थिए । साइबरसम्बन्धी ज्ञान भएका ती सबैले फेसबुक, म्यासेन्जरलगायत सामाजिक सञ्जालमार्फत् फ्रेन्ड रिक्वेस्ट पठाउने तथा कल गरेर साथी बनाई प्रभोलनमा पार्ने गरेका थिए । अभियुक्तविरुद्ध प्रहरीले जेठ ९ गते जिल्ला अदालत उदयपुरबाट मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ अन्तर्गत ठगी, अपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) र संगठित अपराध सम्बन्धी कसूरमा म्याद थप भई अनुसन्धान कार्य अघि बढेको प्रहरी प्रमुख ज्ञानेन्द्र फुयाँलले बताए । अभियुक्तहरुलाई इलाका प्रहरी कार्यालयको पहलमा जेठ ९ गते विभिन्न स्थानबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायव उपरिक्षक रविन कार्कीले जानकारी दिए ।
पक्राउ परेका मध्य प्रविण भट्टलाई प्रहरीले गत जेठ ८ गते, निरजकुमार साहलाई जेठ २१, ध्रुव थापालाई असार ४ गते, डम्बर साहलाई असार १० गते, हेमराज साह, बरजहान सखे, रुस्तम मन्सुरीलाई असार १३ गते, प्रहरीले नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका अभियुक्तलाई सार्वजनिक गर्दै प्रहरीले नागरिकलाई अपरिचित व्यक्तिले पठाएको फ्रेन्ड रिक्वेस्ट एसेप्ट नगर्न, सामाजिक सञ्जाल प्रयोग गरेपछि लगआउट गर्न, पासवर्ड र पीनकोर्ड सेयर नगर्न, समय समयमा परिवर्तन गर्न र विशेषगरी भारतको कोड नम्बर ं००९१ र पाकिस्तानको ं००९२ बाट आएको फोन कललाई शंकास्पद मान्ने, नबुझी लिंकमा क्लिक नगर्ने, ओटीपीहरु अरुलाई सेयर नगर्ने र सामाजिक सञ्जालमा आफ्नो मुभमेन्टहरु सेयर नगर्न अनुरोधसमेत गरेको छ ।
प्रहरीले त्यसरी सामाजिक संजाल तथा विभिन्न फोनहरुबाट अपरिचित व्यक्तिहरुले चिट्ठा परेको, उपहार आउदै गरेको लगायतका सूचना दिए विश्वास नगर्न र प्रहरीलाई तत्कालै जानकारी गराउनका लागि समेत अनुरोध गरेको छ ।