उदयपुर । उदयपुरमा दुई पाङ्ग्रे सवारी साधन चोरी गरेर भाग्दै गरेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सदरमुकाम गाईघाट घर भएकी सुस्मिता राईको स्कुटर चोरी गरेर लैजादै गरेको अवस्थामा २३ वर्षीय युवक समातिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार छिमेकी जिल्ला सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर ७ स्थायी घर बताउने सुनिलकुमार चौधरी मध्यरात १२ः०० बजे पक्राउ परेका हुन् । उनलाई स्कुटर डो¥याएर लैजादै गरेको अवस्थामा नगर प्रहरीको गस्ती टोलीले फेला पारेको हो ।
रातको समय चाँबी नभएको स्कुटर डो¥याउदै गरेको देखेपछि त्रियुगास्थित नगर प्रहरीको गस्ती टोलीले सोधपुछ गर्दा चोरी पत्ता लागेको थियो । चौधरीले घरमा पार्किङ गरेर राखिएको ठाउँबाट ‘लक’ तोडेर लैजान खोजेको प्रहरीले अनुमान गरेको छ ।
त्रियुगा नगरपालिका वडा नम्बर १२ स्थित स्थानीय शनिमन्दिर नजिकै सडकबाट को २७ प १३४९ नम्बरको स्कुटरसहित चौधरी नियन्त्रणमा परेका थिए । त्रिनपा १२ घर भएकी सुस्मितालाई स्कुटर जिम्मा लगाइएको छ । आरोपित चौधरीलाई भने जिल्ला अदालत उदयपुरबाट एक हप्ताको म्याद थप गरी कानुनी कारवाहीको प्रक्रिया बढाइएको छ ।