उपाहार न्यूज
उदयपुर कात्तिक २
आगामी मंसीर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको लागि उदयपुरका सबै जसो निर्वाचन क्षेत्रका उम्मेदवारहरु यतिवेला आफ्ना कार्यकर्ता र जनता माझ पुग्न सुरु गरेका छन् । निर्वाचन आयोगले कात्तिक १७ गते देखि मात्रै औपचारिक रुपमा प्रचार प्रसार, आम भेला, जुलुस गर्न पाइने आचारसंहिता बनाए पछि दलहरु अनौपचारिक रुपमा आफ्ना कार्यकर्ता माझ पुग्ने गरेका छन् । यतिवेला दलहरु आफ्ना अगुवा कार्यकर्ताहरुमा आगामी निर्वाचनको माहोल तयार पार्न विभिन्न बैठक, प्रशिक्षण तथा अनौपचारिक रुपमा नागरिकहरु समक्ष छलफलमा जुटेको छ ।
उदयपुरमा मुख्य गरी लोकतान्त्रिक बाम गठबन्धन र एमाले यतिवेला चुनावी अभियानमा जुटेको छ । नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक बाम गठबन्धनले यतिवेला जिल्लाका विभिन्न स्थानमा अगुवा कार्यकर्ता भेला तथा छलफललाई तिब्रता दिएको छ । नेपाली कांग्रेस,माओवादी केन्द्र र एकिकृत समाजवादी गठबन्धनले त्रियुगा नगरपालिका क्षेत्रमा आफ्नो सक्रियता बढाएको छ ।
मंगलबार देखि त्रियुगा क्षेत्रमा गठबन्धनले आफ्ना एजेण्डा र गठबन्धनको उद्देश्य आफ्ना कार्यकर्ता माझ राख्दै निर्वाचनको माहोल तयार पार्न सुरु गरेको छ । मंगलबार त्रियुगा नगरपालिका वडा नम्बर १, २ र ३ नम्बर वडामा गठबन्धनका उम्मेदवारहरुले छलफल गरेको छ । यता बुधबार त्रियुगा नगरपालिका वडा नम्बर ४ को सालघारी ५ नम्बरको बालुवाटार पिपलचोक र ६ नम्बर वडाको लालपत्तामा आफ्ना कार्यकर्ता माझ आन्तरिक छलफल र गठबन्धनका उद्देश्यको बिषयमा प्रशिक्षण गरेको छ ।

गठबन्धनबाट उदयपुर १ प्रतिनिधि सभामा नेपाली कांग्रेसका डा. नारायण खड्का, १ (क) मा राजन किराती १ (ख) मा हिमाल कार्की उम्मेदवार छन् । उता प्रतिनिधि सभा २ मा एकिकृत समाजवादीका जग्गनाथ खतिवडा १ (क) माओवादीका नारायण बुर्जामगर र १ (ख) मा रामकुमार खत्री उम्मेदवार छन् ।
समानुपातिक तर्फ नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा महेन्द्र प्रसाद चौधरी, नजबुल खान प्रदेश सभा तर्फ लिला राई र मिरा कटुवाल उम्मेदवार छन् । यता माओवादी केन्द्रबाट समानुपातिक तर्फबाट प्रतिनिधि सभा तर्फ दिलकुमारी मगर अधिकारी तथा प्रदेश सभामा सम्झना तामाङ, भगवती खत्री दाहाल एकिकृत समाजवादीका प्रतिनिधि सभा तर्फ राममणी पोख्रेल, दुर्गा परियार, गंगा कार्की प्रदेश तर्फ चुना थापामगर, विक्रमी महतो चौधरी रहेका छन् ।
उम्मेदवारहरु यतिवेला आफ्ना उम्मेदवारीको उद्देश्य र प्रतिबद्धता सहित गाउँ गाउँमा पुगेका छन्, उनीहरुले लोकतान्त्रिक बाम गठबन्धनको आवश्याको बिषयमा समेत कार्यकर्ता स्तरमा पुगेर प्रशिक्षण सुरु गरेका छन् । बाम लोकतान्त्रिक गठबन्धन मुलुकको राष्ट्रिय आवश्यक्ता भएकाले यतिवेला गठबन्धन दल चुनावमा होमिएको प्रतिनिधि सभा १ का उम्मेदवार डा. नारायण खड्काले बताउनु भयो । उहाँले आफु निर्वाचनमा जित्दा या हार्दा जुनसुकै अबस्थामा पनि जिल्लाको विकासका लागि परेको बताउनु भयो । जिल्लामा सडक, खानेपानी, विद्यालय तथा क्यापसहरुमा भवन, पुल, गाउँ गाउँमा एम्बुलेन्स, विद्यालय बस लगायतको लागि पहल तथा निर्माण गरेको बताउनु भयो । प्रदेश सभा १ (ख) का उम्मेदवार हिमाल कार्कीले देशमा स्थायी सरकार निर्माण गरी विकासलाई संस्थागत गर्नका लागि आज गठबन्धनको आवश्यक्ता रहेको औल्याउनु भयो, उहाँले गठबन्धनका उम्मेदवार जहाँ कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीका उम्मेदवार छन् त्यहाँ त्यहाँ रुख, गोलाकार भित्रको हसिया हथौडा र कलम चिन्हमा मतदान गर्नका लागि आव्हान गर्नु भएको छ ।

गठबन्धन राष्ट्रिय आवश्यक्ता र उदयपुर क्षेत्र नम्बर १ को विकासको लागि डा. नारायण खड्का, हिमाल कार्की, राजन किरातीको विकल्प नरहेको एकिकृत समाजवादीका त्रियुगा नगर समितिका अध्यक्ष जनार्दन रेग्मीले बताउनु भयो । उहाँले मुलुकमा स्थायीत्व संबिधानको रक्षा र लोकतन्त्रको रक्षाको लागि लोकतान्त्रिक बाम गठबन्धनमा मतदान गर्नुको विकल्प नरहेको त्रियुगा नगरपालिका ४ मा आयोजित अगुवा कार्यकर्ता भेलामा बताउनु भयो ।
नगर कार्यवाहक उपाध्यक्ष सागर विश्वकर्मा विगतमा नेपाल कम्युनिष्ट पार्टी निर्माण हुदै गर्दा जुन उद्देश्य र सोचका साथ स्थापना भएको थियो त्यो उद्देय पुरा नगरी केपि ओली प्रवृत्तिले गर्दा आज नेकपा फुट संगै लोकतन्त्र तथा मुलुकमा भएको परिवर्तनको संस्थागत गर्नका लागि लोकतान्त्रिक बाम गठबन्धन निर्माण भएको बताउनु भयो । कांग्रेस नगर सभापती प्रकास कुमार खड्काले उदयपुर क्षेत्र नम्बर १ को समग्र विकास र त्रियुगा नगर क्षेत्रको विकासको लागि डा. नारायण खड्का र हिमाल कार्की, राजन किराती तथा गठबन्धन उम्मेदवारहरुले जित्नै पर्ने आवश्यक्ता रहेकाले सोहि अनुसार अघि बढ्नका लागि अगुवा कार्यकर्ताहरुलाई आग्रह गर्नु भयो ।