उपाहार न्यूज
उदयपुर श्रावण १४
नेपाल रेडक्रस सोसाईटी उदयपुरमा संचालित कोभिड १९ पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रम प्रभावकारी रुपमा सम्पन्न भएको छ । अन्तराष्ट्रिय रेडक्रसको सहयोगमा संचालित छोटो अवधिको सो परियोजना कोभिड १९ बाट प्रभावित क्षेत्रमा काम गर्दै सम्पन्न भएको हो ।
नेपाल रेडक्रस सोसाईटी उदयपुर शाखामा तीन महिना अघि मात्र दोस्रो चरणको लागि लागु भएको पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रम जिल्लाको कटारी, त्रियुगा र चौदण्डिगढी नगरपालिकामा संचालन भएको थियो ।
कोभिड १९ पछि उत्पन्न परिस्तिथिको सामना गर्दै त्यसको रोकथामको लागि पूर्व तयारी र प्रतिकार्यका गतिविधि परियोजना अवधिमा सम्पन्न भएको परियोजा जिल्ला संयोजक सलिन खानले जानकारी दिनु भयो ।
परियोजनाले विशेषगरी शिक्षा, मनोसामाजिक परामर्श, जिविकोपार्जन र लैङगीक संरक्षण तथा समावेशीताको क्षेत्रमा काम गरेको थियो । परियोजना अन्तर्गत कटारी नगरपालिका ३ को सरस्वती मावि, त्रियुगा नगरपालिकाको जनज्योती मावि चुहाडे र चौदण्डिगढी नगरपालिका ९ को जनता मावि हडियामा परियोजनाले शिक्षा, मनोसामाजिक तथा लैङगीक संरक्षण तथा समावेशीताको क्षेत्रमा काम गरेको थियो । सो क्रममा विद्यालयका बालबालिकाहरुलाई विभिन्न किसिमका मनोसामाजिक परामर्श, लैङगीक संरगण तथा समावेशीताको बिषयमा परामर्श संगै विद्यालयमा शौचालय व्यवस्थापन तथा खानेपानीको क्षेत्रमा काम गरेको थियो ।
यता जिविकोपार्जनको क्षेत्रमा कोभिड १९ बाट अति प्रभावित परिवारलाई व्यवसायीक योजनाको आधारमा २५ परिवारलाई ३० हजारको दरले ७ लाख ५० हजार नगद सहयोग गरेको रेडक्रस उदयपुरका वित्त संयोजक गोपाल थापाले जानकारी दिनु भयो ।
परियोजनको अवधि सकिए संगै शनिवार गाईघाट स्थित होटल कोहोबरमा परियोजनाको अन्तिम जिल्ला स्तरीय समन्वय बैठक सम्पन्न भएको छ । बैठकको क्रममा परियोजनाले संचालन गरेको कार्यक्रम विद्यालय तथा समुदायमा प्रभावकारी भएको सहभागीहरुले बताएका थिए । कार्यक्रममा जनज्योती मावि चुहाडेका प्रअ धर्मानन्द खतिवडा, जनता मावि हडियाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र गिरी, चौदण्डिगढी नगरपालिकाका विपद व्यवस्थापन शाखाका प्रतिनिधि नेत्र विश्वकर्मा, पत्रकार महासंघ उदयपुरका सचिव विश्वराज तामाङ, ओरके उदयपुरका प्रतिनिधि हरिशरण धितालले परियोजनाको बिषय तथा कोभिड १९ को पूर्व तयारी प्रतिकार्यको बिषयमा आफ्नो भनाई राख्नु भएको थियो ।
कार्यक्रममा रेडक्रस उदयपुरका मन्त्री सुभाषकुमार श्रेष्ठले परियोजना संचालन गर्न पूर्व कुन क्षेत्रमा कसरी काम गर्ने भन्ने बिषयमा समन्व्य बैठक राखिएको सोहि उद्देश्य अनुसार काम गरेको बताउनु भयो । उहाँले परियोजनाले लिएको निति तथा उद्देश्य अनुसारनै काम गरिएको समेत बताउनु भयो । कार्यक्रमको अध्यक्षता मन्त्री श्रेष्ठले गर्नु भएको थियो कार्यक्रमको संचालन रेडक्रसका वित्त संयोजक गोपाल थापा तथा स्वागत रेडक्रस सदस्य लक्ष्मी कट्टेलले गर्नु भएको थियो ।