उपाहार न्यूज
उदयपुर साउन २
उदयपुरका निजामती कर्मचारी संबद्ध विभिन्न संघ संगठनहरुले स्थानिय तहहरुले विना कारण करार सेवामा कार्यरत कर्मचारीहरुलाई कामबाट निकालिएको प्रति ध्यानकर्षण जनाएको छ । स्थानिय तहमा निर्वाचित जनप्रतिनिधिहरुले साविकका करार सेवाका कर्मचारीहरुलाई कामबाट निकालिएको प्रति राष्ट्रिय स्तरका ट्रेड युनियनहरुले दुःख व्यक्त गरेको हुन् ।
सोमबार प्रेस विज्ञप्ती जारी गर्दै कर्मचारी संबद्ध संघ संगठनहरुले जिल्ला समन्वय समिति उदयपुरका प्रमुख तथा उप प्रमुख मार्फत ज्ञापन पत्र बुझाउदै जिल्लाका आठ वटै स्थानिय तहमा कर्मचारीलाई निकाल्ने काम प्रति खेद व्यक्त गरेका हुन् । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका अध्यक्ष देवराज कोइराला, नेपाल निजामती कर्मचारी युनियनका उपाध्यक्ष पुष्पराज सापकोटा, एकिकृत सरकारी कर्मचारी संगठनका सचिव कृत रायामाझी, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका अध्यक्ष रीतकुमार राउत तथा नेपाल मधेशी निजामती कर्मचारी मञ्चका अध्यक्ष मनोजकुमार झाले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै जिल्ला समन्वय समितिका प्रमुख मार्फत आठ वटै स्थानिय तहलाई ज्ञापन पत्र बुझाएका हुन् ।
यता नेपाल निजामती कर्मचारी युनियनका प्रदेश नम्बर १ ले पनि देशभरका स्थानिय तहहरुमा भैरहेको कर्मचारी हटाउने कार्यको विरोध गरेका छ । कर्मचारी युनियनका प्रदेश नम्बर १ का अध्यक्ष तथा केन्द्रिय उपाध्यक्ष मान बहादुर वनद्धारा हस्ताक्षरित विज्ञप्ती जारी गर्दै स्थानिय तहले तत्काल यस किसिमको कदमलाई सच्याउनु पर्ने उल्लेख गरेको छ ।