उपाहार न्यूज
उदयपुर असार १७
त्रियुगा नगरपालिका वडा नम्बर ११ उदयपुरले आर्थिक बर्ष २०७८/०७९ को तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सुशासन, पार्दर्षिता र जवाफदेहिताको लागि वडाले तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा सहभागी त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्तकुमार बस्नेत, उप प्रमुख महेश्वरी राई तथा वडा अध्यक्ष सुमन्त कोइरालाले स्थानिय वडाको विकासको लागि स्थानिय उपभोक्ता र स्थानिय सरकारको विचमा समन्वय हुनु पर्नेमा जोड दिनु भएको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख बस्नतकुमार बस्नेतले त्रियुगा नगरपालिकाले आगामी आर्थिक बर्षको लागि निति तथा कार्यक्रम सार्वजनिक गरेकाले सबै क्षेत्र संगको समन्वय र सहकार्यमा योजना तथा बजेटको कार्यक्रम तयारी गर्ने बताउनु भयो ।
उहाँले त्रियुगा नगरपालिका क्षेत्र भित्रको समस्याको रुपमा रहेको फोहोर व्यवस्थापन यसै बर्ष देखि हुने र त्यसको लागि आवश्यक साझेदारी र समन्वयको तयारी भैरहेको बताउनु भयो । उहाँले स्थानिय बजार व्यवस्थापनको लागि समेत नगरपालिकाले योजना निर्माण गरेको बताउनु भयो । उहाँले स्थानिय नागरिकहरुको माग र आवश्यक्ताको आधारमा नगरपालिकाले बजेट कार्यक्रम तय गर्ने बताउनु भयो ।
त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राईले त्रियुगा नगरपालिकाको समृद्धि र विकासको लागि स्थानिय नागरिक र नगर सरकार विच समन्वय र सहकार्य हुनु पर्ने बताउनु भयो । उहाँले त्रियुगा नगरपालिका वडा नम्बर ११ मा देखिएको बजार व्यवस्थापन आफैमा चुनौतीपूर्ण रहेको बताउनु भयो ।
अव्यवस्थित पार्कीङ, तरकारी बजार, फोहोर व्यवस्थापन चुनौतीको रुपमा रहेकाले यसलाई सबैको समन्वयमा व्यवस्थापन गरिनु पर्ने बताउनु भयो । उहाँले नागरिक आफैमा पनि यस्ता बिषयको सहि व्यवस्थापन गर्नका लागि जिम्मेबार बन्नु पर्ने औल्याउनु भयो ।
कार्यक्रममा त्रियुगा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष सुमन्त कोइरालाले वडा नम्बर ११ त्रियुगा नगरपालिका मात्रै नभएर जिल्लाकै केन्द्र भागको वडा भएकाले नगरपालिकाले बिनियोजन गर्ने बजेट नगरपालिकाको आन्तरिक आय स्रोतको आधारमा बिनियोजन गर्न माग गर्नु भएको थियो ।
वडा अध्यक्ष कोइरालो उहाँले त्रियुगा नगरपालिकामा सबै भन्दा बढि राजश्व वडा नम्बर ११ ले संकलन गरे पनि बजेट सिलिङ भने अन्य वडाको तुलनामा प्राप्त हुदा वडाले सम्मानजक बजेट प्राप्त गर्न नसकेको प्रति गुनासो पोख्नु भएको थियो ।

उहाँले वडामा स्थानिय टोल विकास संस्थाहरुबाट विभिन्न विकासका योजनाहरुको माग भएकाले वडा सिलिङबाट मात्रै पुरा गर्न संभव नभएकाले नगरपालिका, प्रदेश र संघलाई समेत माग गर्ने गरि प्राथमिक्ताको आधारमा बजेट माग गरिएको सार्वजनिक गर्नु भएको थियो ।
वडा अध्यक्ष कोइरालाले स्थानिय नागरिकहरुको माग र आवश्यक्ता तथा प्राथमिक्ताको आधारमा बजेट बिनियोजन गरिने बताउनु भयो ।
कार्यक्रममा त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रसाईली, टोल विकास समन्वय समितिका नगर सचिव अमित तामाङ, पत्रकार महासंघ उदयपुरका पूर्व अध्यक्ष इश्वर तामाङ, वडा नम्बर ११ का ३१ वटै टोल विकास संस्थाका प्रतिनिधि, स्थानिय नागरिक, पत्रकार, विद्यार्थी तथा जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागी स्थानिय नागरिकहरुले वडाबाट बिनियोजन गरिने बजेटहरु प्रभावकारी कार्यान्वयन हुनु पर्नेमा जोड दिएका थिए, कार्यक्रमका सहभागीहरुले वडाले बिनियोजन गर्ने बजेटमा स्थानियको समेत समान सहभागीताको माग राखेका थिए ।
कार्यक्रमका सहभागीहरुले टोल विकास संस्थाको भुमिका र जिम्मेबारीको बिषयमा समेत प्रश्न उठाएका थिए, सहभागीहरुले टोल विकास संस्था नगरपालिकाको जरा संस्था भएकाले हरेक निति तथा कार्यक्रम निर्माण गर्दा टोल विकास संस्थाको भुमिकालाई प्रभावकारी बनाउन माग गरेका थिए । सार्वजनिक सुनुवाई कार्यक्रममा सहजीकरणको जिम्मेबारी पाएको पानस उदयपुरले वडामा वहिर्गमन अभिमत र नागरिक प्रतिवेदन पत्रको आधारमा संकलित अभिमतको प्रतिवेदन पानसका सहजकर्ता किरन प्रसाद ढंगानाले प्रस्तुत गरेको गरेका थिए । कार्यक्रममा त्रियुगा नगरपालिका वडा नम्बर ११ का कर्मचारी प्रियंका पाण्डेले वडाले आर्थिक बर्ष २०७८/०७९ मा संचालन गरेका वडागत योजनाको विवरण तथा त्रियुगा नगरपालिकाका पंजीकरण शाखाका सिरोमणी खतिवडाले पंजीकरणको विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा त्रियुगा नगरपालिका वडा नम्बर ११ को पंचबर्षिय योजना सहितको प्रतिवेदन शोलुसन मिडियाका खेमराज दाहालले प्रस्तुती गरेका थिए ।