उपाहार न्यूज
उदयपुर असार १३
उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि निति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । पालिका अध्यक्ष मेजरकुमार राईले आगामी आर्थिक बर्षको लागि प्रस्तुत गर्नु भएको निति तथा कार्यक्रम पालिकाले विशेषगरी पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई मुख्य प्राथमिक्तामा राखेर सार्वजनिक गरेको बताउनु भएको छ ।
गाउँपालिकामा पूर्वाधार विकास तर्फ पालिका भवन, वडा भवन, स्वास्थ्य चौकी, विद्यालयका भवनहरुलाई निर्माणलाई पूर्णता दिने, कृषिको व्यवसायीक उत्पादनको लागि अध्यक्ष कृषि परियोजनालाई निरन्तरता दिने, प्रत्येक वडामा पशु सेवा केन्द्र स्थापना गर्ने योजना रहेको अध्यक्ष मेजरकुमार राईले बताउनु भयो ।
पालिकाले प्रत्येक वडामा पुगेर दिदै आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने, पालिाकाको पाँच माध्यमिक विद्यालयमा शैक्षिक सुधार कार्यक्रम लागु गर्ने, नागरिकलाई वित्तिय साक्षरता कक्षा संचालन गर्ने योजना निति तथा कार्यक्रममा समावेश गरेको अध्यक्ष राई बताउनु हुन्छ । पर्यटन तर्फ लिम्चुङबुङ दोबाटेमा निर्माणधिन एभरेष्ट भ्यू टप निर्माणलाई पालिकाले प्राथमिक्तामा राखेको छ ।
पालिकाले आगामी आर्थिक बर्ष २०७८/०८९ लागि अनुमानित बजेट ३७ करोड ३३ लाख बजेट प्रस्ताव गरेको छ । गाउँपालिका उपाध्यक्ष पुष्पलाल राईले आगामी आर्थिक वर्ष २०७९/८० को लागि उक्त बजेट प्रस्तुत गरेका हुन् । बजेटमा संघिय सरकारको तर्फबाट वित्तीय समानीकरण अनुदान तर्फ ७ करोड ७९ लाख, सशर्त अनुदान तर्फ १४ करोड १७ लाख, विशेष अनुदान तर्फ १ करोड र समपुरक अनुदान पुँजीगत तर्फ ६० लाख गरी २३ करोड ४७ लाख बजेट विनियोजन भएको छ ।
यस्तै प्रदेश सरकारको तर्फबाट वित्तिय समानीकरण अनुदान तर्फ १३ लाख ७५ हजार, सूत्रमा आधारित अनुदान तर्फ २६ लाख बजेट विनियोजन गरेको छ । यस्तै राजश्व बाँडफाँडमा २२ लाख २० हजार बजेट विनियोजन भएको छ ।
चालु आबको तुलनामा आगामी आवको बजेट ५ करोड ४८ लाख घटेर बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्षको तुलनामा संघिय र प्रदेश सरकारबाट बजेट घटेर आएकोले बजेटको आकार घटेको गाउँपालिकाका सूचना अधिकारी तथा लेखा प्रमुख ताराकिरण राईले बताउनु भयो ।
यस्तै आर्थिक विकास तर्फ ८६ लाख ५४ लाख, सामाजिक विकास तर्फ १ करोड १७ लाख ५५ हजार, पूर्वाधार विकास तर्फ २ करोड ८८ लाख ६० हजार, सुशासन प्रवद्र्धन तर्फ २२ लाख १५ हजार, संस्थागत विकास केन्द्र, सेवा प्रवाह र सुशासन ११ लाख ७३ हजार विपद व्यवस्थापन तर्फ ५३ लाख खर्च गर्ने लक्ष्य लिइएको छ ।
यस्तै पर्यटन तर्फ ५५ लाख खर्च मध्ये ५० लाख भ्यू टावर समपुरक सहभागिता रहेको छ ।