उपाहार न्यूज
भुट्टार जेठ २२
प्रदेश नम्बर १ मै पहिलो पटक रौतामाई गाउँपालिका उदयपुरले नमुना युवा गाउँ सभा संचालन गरेको छ । राष्ट्रिय युवा परिषदको कार्यक्रम अन्तर्गत प्रदेश नम्बर १ मा रौतामाई गाउँपालिकाले नमुना युवा गाउँ सभाको अभ्यास गराएको हो ।
यस संगै प्रदेश नम्बर १ मा रौतामाई गाउँपालिका युवाहरुलाई नमुना युवा गाउँ सभाको अभ्यास गराउने पहिलो पालिका बन्न पुगेको छ । जेठ १९ गते देखि सुरु भएको चार दिने कार्यक्रम अन्तर्गत रौतामाई गाउँपालिकाको आठ वटै वडाका युवा संजालका प्रतिनिधिहरुको सहभागीतामा नमुना गाउँ सभा तथा युवा क्लब गठन कार्यक्रम सम्पन्न गरेको रौतामाई गाउँपालिका उदयपुरका शिक्षा शाखा प्रमुख गोविन्द कार्कीले जानकारी दिनु भयो ।

स्थानिय २१ जना युवाहरुको सहभागीता रहेको उक्त कार्यक्रममा युवाहरुलाई स्थानिय तहमा जनप्रतिनिधि निर्वाचनको अभ्यास, गाउँ सभा संचालनको अभ्यास गराईएको प्रशिक्षक भुवन दाहालले जानकारी दिए । गाउँपालिकाको आयोजनामा संचालन भएको चार दिने युवा गाउँ सभा अभ्यासमा युवाहरुलाई स्थानिय तहमा योजना निर्माणका चरणहरु, युवा क्लबको काम कर्तव्य र अधिकार तथा नमुना युवा संसद, गाउँ नगर सभाको बैठक संचालन विधि लगायतको बिषयमा प्रशिक्षण गरिएको थियो ।

चार दिनको कार्यक्रम युवा क्लब समेत गठन गरिएको थियो युवा क्लबको अध्यक्षमा आसिम मल्ल, उपाध्यक्षमा जानुका श्रेष्ठ निर्वाचित भएका थिए । तालिमको प्रशिक्षण दाहाल संगै सरोज ढकालले समेत गर्नु भएको थियो ।
कार्यक्रमको अन्तिम दिन आईतबार युवाहरुलाई गाउँ सभाको अभ्यास गराईएको गाउँपालिकाले जनाएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष बीरेन्द्र आलेमगर, उपाध्यक्ष भुपेन्द्र बहादुर थापा विभिन्न वडाका वडाअध्यक्ष, गाउँ कार्यपालिका सदस्य, स्थानिय तहका जनप्रतिनिधि, कर्मचारी लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागी युवाहरुलाई गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षले प्रमाणपत्र सहित धन्यवाद ज्ञापन गर्नु भएको थियो ।