विश्वराज तामाङ
उदयपुर चैत २२
भारतीय राजदुतावासको हयोगमा उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १० बोक्सेमा रहेको बालमन्दिर माध्यमिक विद्यालय परिसरमा निर्माण हुने भवनको एक कार्यक्रमको विच शिलन्यास गरिएको छ । नेपाल सरकारका परराष्ट्रमन्त्री तथा उदयपुर प्रतिनिधि सभा सदस्य डा. नारायण खड्का र भारतीय कार्यवाहक राजदुत नामग्य सी खाम्पाले शिलन्यास गर्नु भएको हो ।

भारत नेपाल विकास सहकार्य अन्तर्गत निर्माण हुन लागेको भवन तीन करोड ४० लाख ८० हजारमा थापा निर्माण सेवा प्रा.लि रामेछापले आगामी २०७९ पौष २१ गते सम्म निर्माण गर्ने गरि ठेक्का सम्झौता गरिएको छ । एक हजार बढि विद्यार्थी अध्यान गर्ने बालमन्दिर माध्यमिक विद्यालयमा २१ कोठे भवन निर्माण हुन लागेको हो । भवन उद्घाटन सामारोहमा बोल्दै प्रमुख अतिथि परराष्ट्र मन्त्री डा. नारायण खड्काले गुणस्तरीय शिक्षाको लागि भौतिक पूर्वाधार गुणस्तरीय हुनु पर्ने भएकाले स्थानियको मागको आधारमा आफुले भारतीय राजदुतावास संग भवन निर्माणको लागि पहल गरेको बताउनु भयो ।

उहाँले आफ्नो पहलमा उदयपुरका अन्य विद्यालयहरुमा पनि भारतीय राजदुतावासको सहयोगमा विद्यालय भवनहरु निर्माण भैरहेको र कतिपय स्थानमा निर्माण गरिएको बताउनु भयो । उदयपुरमा पूर्वाधार विकासको क्रमम सुरु भएको र विमानस्थल निर्माणले समेत गति लिएको उहाँले बताउनु भयो । डा. खड्काले उदयपुरका नागरिकहरुलाई स्वास्थ्य सेवा दिनको लागि सुविधा सम्पन्न अस्पताल निर्माणको लागि समेत आफ्नो निरन्तर पहल भैरहेको बताउनु भयो ।
कार्यक्रममा भारतीय कार्यवाहक राजदुत नामग्य सी खाम्पाले प्रदेश नम्बर १ मा मात्रै ७९ वटा विभिन्न योजनाहरु भारत सरकारको सहयोगमा निर्माण भैरहेको र त्यसमा पनि उदयपुरमा ९ वटा योजनाहरु निर्माण भएको जानकारी दिनु भयो । उहाँले डा. नारायण खड्काले यस क्षेत्रको विकासको लागि भारत सरकार संग गरिएको पहलको आधारमा सहयोग गरिएको बताउनु भयो ।

कार्यक्रममा त्रियुगा नगरपालिकाका नगर प्रमुख वलदेव चौधरीले त्रियुगा नगरपालिकालाई उप महानगरपालिका निर्माणको लागि पूर्वाधारहरु जुटाउने काममा लागि परेको बताउनु भयो । चौधरीले त्रियुगा नगरपालिका क्षेत्रमा मेडिकल कलेज स्थापनाको लागि परराष्ट्र मन्त्री डा. नारायण खड्का र भारतीय राजदुतावासलाई सहयोगको अपिल समेत गर्नु भयो ।
भवन निर्माणको लागि एक बर्ष अघिनै भारतीय राजदुतावास, संघिय मामिला मन्त्रालय र त्रियुगा नगरपालिका विच त्रिपक्षिय सम्झौता भै भवन निर्माणको क्रम अघि बढे पनि कोभिडका कारणले गर्दा शिलन्यासको काम भने पछि हुन पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकास कुमार खड्काले बताउनु भयो ।
उहाँले भवन निर्माणको लागि सहयोग पु¥याउने परराष्ट्रमन्त्री डा. नारायण खड्का, भारतीय राजदुतावास र त्रियुगा नगरपालिकालाई धन्यवाद समेत दिनु भयो । भारतीय राजदुतावासको सहयोगमा भवन निर्माण हुने भए पछि साघुरो भौतिक संरचनामा हुदै आएको पठनपाठन सहज हुने विद्यालयका प्रध्यानध्यापक जंग बहादुर खड्काले बताउनु भयो ।